काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेकोमा साझा पार्टीले आपत्ति जनाएको छ ।
रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? प्रश्न गर्दै साझा पार्टीले विज्ञप्तिमार्फत भनेको छ, "यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पार्नुपर्छ । त्यसो होइन भने आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ।"
एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट पार्ने उल्लेख गर्दै साझा पार्टीले यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने टिप्पणी गरेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७, १६:२८