काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।
बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा उहाँले टीका र जमरा ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजयादशमीको टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।
आज दिउँसो प्रधानमन्त्री ओली टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नुभएको थियो । शीतलनिवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिनुभएको छ ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाउनुभयो ।
प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउनु भएको थिएन । बालुवाटारमा पत्नी राधिकालाई मात्र प्रधानमन्त्रीले दसैँको टीका लगाइदिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७, १९:४९