काठमाडौँ । नेकपाका महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेलले पार्टी गम्भीर सङ्कटमा परेको भन्दै सङ्कट टार्नका लागि एक हुन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद उत्कर्षमा पुगेको बेलामा महासचिव पौडेलले यस्तो बताउनुभएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा आज आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको टिप्पणी गर्नुभएको हो ।
महासचिव पौडेलले ट्विटरमा लेख्नुभएको छ, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’
११ दिनको सम्वादहिनता तोड्दै हिजो दुई अध्यक्षको भेट भए पनि विववाद समाधानका लागि ठोस सहमति भएको छैन ।
मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको सरकार र पार्टी नेतृत्वमा देखिएको विवाद, रअ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट र पर्सा घटनाका कारण नेकपामा प्रचण्ड नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७, १६:१०