सञ्चारमाध्यमहरू त्यो दिनसम्म पनि त्यति अन्योलमा थिएनन्, जुन दिन साँझ मन्त्रीपरिषद् बैठकबाट सरकारले कोभिड-१९ (नोबेल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गर्ने निर्णय गर्यो । अर्थात् २०७६ चैत १० गते साँझको सरकारको निर्णयपछि सञ्चारमाध्यम रातारात नै भोलिदेखिको कार्यतालिका मिलाउन थाले । सरकारको निर्णयानुसार चैत ११ गतेबाट अत्यावश्यकीय सेवाहरू बाहेकका अन्य सबै कुराहरू बन्द हुँदै थिएँ । सवारी साधन, होटल, पसल र उद्योगधन्दा आदि सबै ।
आम मानिसले त कम्तिमा घरै बसेर देश दुनियाँबारे लकडाउन हेर्ने, सुन्ने र पढ्ने सुविधा पाउँथे । कतिपयले लकडाउनलाई परिवारसँग लामो समय बिताउने अवसरको रुपमा उपयोग गरे । त्यस्तै अन्य कतिले यसलाई आफ्ना आधा अधुरा काम सक्ने मौकाको रुपमा लिए । तर सञ्चारमाध्यम र पत्रकारका लागि महामारी त्यस्ता अवसर हुने कुरै भएन । छापा माध्यमको लागि केही हदसम्म त्यस्तो हुन पनि सक्थ्यो । किन कि दिउँसो काम थालेर साँझमा प्याकेजिङ गरे पनि हुन्छ, तर रेडियो, टेलिभिजनको हकमा त्यस्तो सम्भव हुँदैन ।
मानिसहरू ओछ्यानमै हुँदा देश दुनियाँको ताजा खबर सुनाउन बिहान ५ नबज्दै रेडियो पुग्नुपर्ने पत्रकारहरूले लकडाउनको अवधिमा कसरी काम गरे, यो सङ्क्रमणको अवस्थामा नेपालका रेडियोको भूमिका कस्तो रह्यो र कोभिड-१९ सँग सम्बन्धित सूचनाको लागि आम नागरिक रेडियोमा कति निर्भर भए, यो लेखमा मुख्यतः यिनै विषयलाई समेट्न खोजिएको छ ।
सुरुको अन्योलः कोही अफिसकै क्वारेन्टाइनमा, कोही घरमै एकान्तबासमा
कोभिड-१९ बाट बच्न बचाउनका लागि नागरिकलाई कस्तो खालको सन्देश दिने ? लकडाउनमा के गर्ने ? के नगर्ने ? बाहिर निस्किने कि ननिस्किने? किन ननिस्किने ? निस्किनै परे अपनाउनुपर्ने सावधानी के हो ? यस बारेमा समाचार, कार्यक्रम र जनहितमा जारी सूचना (पीएसए) हरू कस्ता बनाउने ? भनेर छलफलमा बस्नुपर्ने रेडियोकर्मी लकडाउनको अघिल्लो दिन भोलिदेखि कसरी काम गर्ने, अथवा नगर्ने कि भन्ने बारेमा पो छलफल गर्न थाले ।
तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियोहरुको नेटवर्क सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कार्यालयमा नै बसेर काम गर्ने निर्णय आकस्मिक रुपमा गर्यो ।
सम्पादक गोविन्द खड्का भन्छन्, ‘हामीले चैत १० गते राति नै आकस्मिक बैठक बसेर भोलिदेखि कार्यालयमै एकान्तबासमा रहेर काम गर्ने निर्णय गर्यौँ । त्यसका लागि कार्यालयले बस्ने, खाने व्यवस्था कार्यालयमै गरेको थियो । समाचार कक्षमा काम गर्ने मध्ये आधा-आधाको समूह बनाएर बस्न थाल्यौँ । ११ गतेबाट नै कोभिड-१९ रोकथाम तथा नियन्त्रण र यसबाट बच्नको लागि अपनाउनुपर्ने विषय मात्रै समेटेर बिहान साढे ११ र दिउँसो साढे २ मा कोरोना बिशेष बुलेटिन पनि थपेर प्रसारण गर्यौं ।’
खड्का भन्छन्, ‘हामीलाई सरकारको लकडाउन मोडालिटीबारे थाहा थिएन । चीनमा लकडाउनका बेला मानिसलाई घरबाट बाहिर निस्कन बन्देज थियो ।
सायद यस्तै केही व्यवस्था होला भन्ने हामीले सोच्यौँ र सोही अनुसार आकस्मिक योजना बनाएर काम थाल्यौँ । समाचार कक्षका साथीहरूले कोरोनालाई पत्रकारिता पेशा र जीवनको एउटा अवसरको रुपमा लिँदै काम गर्ने साहस देखाएकै कारण विषम परिस्थितिमा पनि काम गर्न सकियो भन्ने लाग्छ ।’
अर्को नेटवर्क उज्यालो रेडियो नेटवर्कले दैनिक ८ वटा बुलेटिनहरू सबै घरबाटै पढ्न थाल्यो । कार्यालयमा पालो गरेर प्राविधिकहरू बस्न थाले ।
उज्यालोका समाचार सम्पादक मिलन तिमिल्सिना भन्छन्, ‘त्यतिबेला अचानक निर्णय गनुपर्ने भयो, लकडाउन कस्तो हुन्छ थाहा नभएको र लकडाउन भन्ने बित्तिकै कोरोनाको पनि जोखिम हुने सम्झिएर सुरक्षित पनि हुने काम पनि नरोकिने गरी घरैबाट समाचारहरू प्रस्तुत गर्न थालियो ।’
उज्यालोले जहाँबाट समाचार वाचकले समाचार पढ्थे, सोही ठाउँको एकान्तबासबाट खबर प्रस्तुत गरिरहेको भन्ने गरेको थियो ।
तिमल्सिना सम्झिन्छन्, ‘समाचारको बीचमा विज्ञापन बज्नु अघि समाचार वाचकले म साबुन पानीले मिचीमिची हात धोएर आउँछु, तपाई पनि हात धुनुहोस् है भन्थे, जुन कुरा राम्रो लागेको भन्दै थुप्रै प्रतिक्रियाहरू आए ।’
घरमै बसेर समाचार बनाउँदा र पढ्दा कहिलेकाहिँ प्रविधिसँग पौंठेजोरी खेल्नुपर्यो । कहिले ल्यापटपले काम नगर्ने, कहिले इन्टरनेट सुस्त बन्ने । कहिले त समाचार पढ्दापढ्दै फोनमा समस्या आउँथ्यो, तर पनि नौलो परिस्थिति, नौलो अनुभव । उज्यालो रेडियो नेटवर्कले जसोतसो झेल्यो र झेलिरहेको छ ।
थाहासञ्चार नेटवर्कका पत्रकार ईश्वरी बराल भन्छिन्, ‘सुरुका दिन अन्योल नै भयो । कसरी काम गर्ने, कस्ता समाचार दिने, अफिस नै आउजाउ कसरी गर्ने अलि तनावकै विषय थियो । तर पनि काम रोकिएन । समाचारमा कोभिड-१९ सँग सम्बन्धित विशेष प्याकेजहरू दियौँ । हामी आलोपालो गरेर कार्यालय आयौँ।’
रेडियो कान्तिपुरका न्युज प्रमूख पवन आचार्यका अनुसार, रेडियो कान्तिपुरमा पनि लकडाउन अवधिभर ड्युटी आलोपालो भयो । सामान्य समयमा १५ जनाले एउटा सिफ्टमा काम गर्दै आएकामा लकडाउनका बेला पाँच जनाको भरमा दिनभरिको काम चल्यो ।
रेडियो नेपालको अवस्था पनि फरक नभएको त्यहाँका समाचार महाशाखाका प्रमुख डा. नवराज लम्साल बताउँछन् ।
कोरोना सङ्क्रमणपछि टेलिभिजनहरू पनि समाचार सङ्कलनको लागि निस्कन सकेनन् । टेलिभिजनमा समाचार एजेन्सीका समाचारहरू धेरै बज्न थाले। किन कि दृश्य खिच्नको लागि टेलिभिजन रिपोर्टिङ फिल्डमा नगइ हुँदैन । तर रेडियो पत्रकारले कार्यालयमा नै बसेर पनि काम गर्न सक्छन् ।
साथै पूर्व-उत्पादित कार्यक्रमभन्दा प्रत्यक्ष प्रसारणको कार्यक्रममा जोड दिएको बताउदै उनी थप्छन्, ‘प्रायोजित कार्यक्रमहरू सबै बन्द भए, कतिपय नियमित कार्यक्रम पनि बन्द भए, बिज्ञापन बन्द भए, अझ अङ्ग्रेजीबाहेक भाषाभाषीका सबै समाचार र कार्यक्रम नै बन्द भए । त्यसको ठाउँमा चौबिसै घण्टा कोभिड-१९ र यससँग जोडिएका विषयबस्तु उठायौँ । सरकारका कुरा नागरिकलाई र नागरिकका कुरा सरकारलाई सुनायौँ । कहिले विज्ञसँग कुरा गर्यौँ, कहिले देशविदेशका अनुभव प्रस्तुत गर्यौँ ।’
मोफसलमा पनि लकडाउनको सुरुवाती समयमा धेरै रेडियोकर्मीहरू अलमलमा परे, जसको कारण रेडियो चलाउन समेत अप्ठेरो भयो ।
झापाको रेडियो साथीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला भन्छन्, ‘केही साथीहरू एकदुई हप्ता अफिसै आएनन्, कोही कार्यालयमै बस्नुपर्ने अवस्था सिर्जना भयो, तर पनि हामीले रेडियोको नियमित कामलाई अलिकति पनि तलमाथि हुन दिएनौँ।’
लकडाउनको बेला कामको दौरान हिड्डुल गर्न पाइनेनपाइनेबारे पनि रेडियोकर्मीहरु अन्योलमा थिए ।
बाराको रेडियो, रेडियो सिमराका समाचार प्रमुख अविनाश आचार्य भन्छन् ‘बाटोमा सवारी साधनहरू चलेका थिएनन् । पत्रकारको कार्डले पनि हिड्न, रिपोर्टिङमा जान पाइन्छ पाइँदैन थाहा थिएन । जिल्ला प्रशासनबाट दिने पासका बारेमा पनि स्पष्ट मापदण्ड आइसकेको थिएन । कहिले अफिसै बसेर कहिले आउजाउ गरेर, त कहिले पैदलै हिडेर पनि रिपोर्टिङ गर्ने र समाचार दिने काम चाहिँ रोकिएन ।’
यसरी हेर्दा सुरुका केही दिन, काम कसरी गर्ने भन्ने अन्योलका बीचमा पनि रेडियोकर्मीले काम छोडेनन् । कोहीले घरमै बसेर काम गरे भने कोही कार्यालयमै बसे । तर अघिपछिको जस्तो फिल्डमा गएर समाचार रिपोर्टिङ भने रेडियो पत्रकारले गरेनन् । अन्य समयमा भन्दा पनि यो समयमा कार्यालयमा नै खटेर काम गरेको भन्दै रेडियोकर्मीको प्रशंसा पनि भएको थियो ।
सङ्क्रमणका बेला रेडियो र विश्वसनीयता
अन्य स्थापित सञ्चार माध्यम (मुख्यगरी टेलिभिजन, दैनिक पत्रपत्रिका) को तुलनामा रेडियो चलाउन पनि अलिक सजिलो हुन्छ । थोरै खर्च र थोरै जनशक्तिबाट पनि चल्ने भएकाले हुन सक्छ, कोभिड-१९ सङ्क्रमणको सुरुवाती अवस्थामा सूचना प्रवाहमा रेडियोले प्रभावकारी भूमिका खेल्यो ।
सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी भन्छन्, ‘जहाँ पत्रपत्रिका पुग्दैन, पुगे पनि साक्षर व्यक्तिहरू कम छैनन्, जहाँ इन्टरनेटको सुविधा छैन, भए पनि हातमा स्मार्टफोन छैन त्यस्ता ठाउँमा निर्विकल्प सञ्चारमाध्यम भनेको रेडियो हो ।
सरकारले लकडाउन गरेलगत्तै देशका केही चल्तीका म्यागजिन र दैनिक पत्रिकाहरु पनि बन्द भए । सम्पादकहरूको समूहले बैठक नै बसेर कोरोना कहरका कारण पत्रिका बन्द गर्ने निर्णय गर्यो ।
ब्रोडशिट दैनिकमा काम गर्ने पत्रकारले घरबाटै काम (वर्क फ्रम होम) गर्न थाले ।
कोरोना सङ्क्रमणपछि टेलिभिजनहरू पनि समाचार सङ्कलनको लागि निस्कन सकेनन् । टेलिभिजनमा समाचार एजेन्सीका समाचारहरू धेरै बज्न थाले। किन कि दृश्य खिच्नको लागि टेलिभिजन रिपोर्टिङ फिल्डमा नगइ हुँदैन । तर रेडियो पत्रकारले कार्यालयमा नै बसेर पनि काम गर्न सक्छन् ।
स्टुडियोमा नै बसेर व्यक्तिका आवाजहरू लिएर प्रसारण गर्न सकिने भएकाले पनि सायद यो समयमा रेडियो र रेडियो पत्रकारलाई त्यति असहज भएन । समाचारमा प्रायोजित कार्यक्रमहरू कम भए, विज्ञापन कम भए । आम्दानी कम भयो ।
तर त्यति हुँदाहुँदै पनि रेडियोमा समाचार कम भएनन् । बरु अन्य समयको तुलनामा बाहिरको काम कम भएको र समाचारमा वा नयाँ जानकारीमा नै केन्द्रीत हुन पाउँदा रेडियोको सामग्री तुलनात्मक रुपमा राम्रो भएको रेडियो नेपालका समाचार महाशाखा डा. लम्साल बताउँछन् ।
२०७२ सालमा भूकम्प गएको समयमा जस्तै यसपटक पनि रेडियोहरूले प्रत्यक्ष प्रसारण गर्ने, कोभिड विशेष कार्यक्रमहरू सञ्चालन गर्ने, कोभिड विशेष बुलेटिन थप्ने र यसबारेमा आवश्यक जानकारी प्रस्तुत गर्ने कामहरू गरे ।
एक त पत्रपत्रिका बन्द भएको र त्यसमाथि पनि राजधानी र ठूला सहर केन्द्रीत पत्रपत्रिकाहरू गाउँसम्म नपुग्ने अवस्थामा रेडियो मात्रै सूचनाको भरपर्दो साथी हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हाल देशभर ७ सय ४० रेडियो स्टेशनहरूले सञ्चालनका लागि अनुमति पाएका छन् । सेयरकास्ट इनिसियटिभको तथ्याङ्क अनुसार कोरोनाबारे रेडियोबाट थाहा पाउनेहरु ६७ दशमलब ३ प्रतिशत रहेका छन् ।
विगतको तुलनामा रेडियो सुन्नेहरु बढेको तथ्याङ्कले देखाउँछ । तर सीआईएन प्रमुख दीपक आचार्य र बानका अध्यक्ष चन्द्र न्यौपानेका अनुसार रेडियोहरुको आम्दानी भने ७० प्रतिशतले घटेको छ ।
तथ्याङ्कले पनि देखाएको छ कि यस्ता खालका विपद्का समयमा रेडियोबाट दिइने सामग्रीहरू प्रभावकारी हुने गरेका छन् ।
सीआईएनका संवाददाता गीता चिमोरिया भन्छिन्, ‘अन्य समयमा भन्दा यो समयमा समाचारमा र कार्यक्रममा धेरै प्रतिक्रियाहरू आए । भाइरसको बारेमा सोध्ने, पासको बारेमा सोध्ने, राहत रकम र खाद्यान्नको बारेमा पनि यो समयमा धेरै जिज्ञासाहरू आए । हामीले सम्बन्धित निकायबाटै श्रोताको समस्या समाधान गर्ने गरेका छौं, सायद त्यसैले पनि हुन सक्छ, यो समयमा श्रोताहरूको फोन कल धेरै नै आयो ।’
लकडाउनको समयमा रेडियोले जति राम्रो भूमिका खेले, कोरोनाकै कारण रेडियोले अहिलेसम्मकै उच्च आर्थिक सङ्कट पनि झेल्नु परेको छ । रेडियोलाई मात्रै होइन, सबै जसो सञ्चार माध्यम यो समयमा अहिलेसम्मकै गहिरो आर्थिक सङ्कटबाट गुज्रिएका छन् । कथित ठूला मिडिया हाउसबाटै पत्रकारहरू निकालिनु परेको अवस्था रहेको छ ।
यसै पनि गाउँमा सूचनाको भरपर्दो स्रोत नै रेडियोहरू हुन् । सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी भन्छन्, ‘जहाँ पत्रपत्रिका पुग्दैन, पुगे पनि साक्षर व्यक्तिहरू कम छैनन्, जहाँ इन्टरनेटको सुविधा छैन, भए पनि हातमा स्मार्टफोन छैन त्यस्ता ठाउँमा निर्विकल्प सञ्चारमाध्यम भनेको रेडियो हो ।
त्यस्तै जहाँ बिजुली पनि पुगेको छैन, त्यस्ता क्षेत्रमा मानिसले रेडियो सुन्छन् र त्यसमा पनि सामुदायिक रेडियोहरू बढी सुन्ने गरेका छन् । किन कि गाउँमा व्यापारिकभन्दा सामुदायिक रेडियो नै धेरै छन् । त्यसैले समुदायस्तरमा रेडियोहरूको विश्वसनीयता राम्रो छ भन्न सकिन्छ ।
रेडियोको प्राथमिकता र नागरिकको रोजाइ
कोभिड-१९ पछि रेडियोहरूले आफ्ना प्राथामिकताको क्षेत्र बदलेका छन् । देशभरि नै पहुँच रहेको रेडियो नेपालले कोभिड-१९ सुरु भएपछिको समयलाई मध्यनजर गर्दै ‘नेपाल वन्दना’ र ‘पूर्णिमा’ कार्यक्रम प्रसारण गर्यो ।
यी कार्यक्रमहरूमा कोरोना भाइरस सङ्क्रमण रोकथामबारेमा जनचेतना र स्रोताका प्रतिक्रिया समावेश गरिन्थ्यो । तर लकडाउन खुकुलो भएसँगै कार्यक्रम रोकियो ।
डा. लम्साल भन्छन्, ‘भूकम्प आयो, रेडियो नेपाल लोकप्रिय भयो, कोरोना आयो फेरि पनि स्रोताले रेडियो नेपाल रोजे । त्यसको कारण रहेछ । अरुबेला हामी प्राइम र सुपर प्राइम टाइममा सरकारी प्रायोजनका कार्यक्रम बजाउँदा रहेछौँ ।
विपद् र महामारीको बेला हामीले जनताका कुरा बजायौँ । जनताका विषय उठायौँ । त्यही भएर हामी लोकप्रिय भयौँ। कोरोना हाम्रा लागि एउटा सिकाइ पनि हो ।’
रेडियो नेपालले मानिसलाई तनाव नहोस् भनेर कथा, कविता र गीतसङ्गीत सुनाउने कार्यक्रम पनि चलायो । जुन कार्यक्रम धेरैले मन पराएका थिए ।
सीआईएनले कोभिड-१९ सुरु भएपछि घरमा नै बसिररहेका बालबालिकालाई लक्षित गर्दै ‘जीवन रक्षा’, ‘हाम्रो घर हाम्रो पाठशाला,’ ‘रेडियो बाल सिकाइ,’ ‘रेडियो पाठशाला’ जस्ता कार्यक्रमहरू तयार पारेर प्रसारण गरिरहेको छ ।
सीआईएन म्यानेजर आचार्य भन्छन्, ‘अहिले बालबालिका र ज्येष्ठ नागरिकमा पर्न सक्ने नकारात्मक असरहरू कम गर्नका लागि भनेर हामीले रेडियो कार्यक्रमहरू बनाइरहेका छौँ ।’
रेडियो नेपालको कथा अलि फरक छ । भूकम्पको बेला दातृ निकायसँग सहकार्य गरेर कार्यक्रम उत्पादन गरेको भए पनि कोरोना महामारीका बेला रेडियो नेपालले एउटा पनि प्रायोजित कार्यक्रम पाएको छैन र चलाएको छैन । डा. लम्सालका अनुसार कोरोनाको विषयमा सरकारी प्रायोजित कार्यक्रम पनि रेडियो नेपालसँग छैन ।
उनकाअनुसार कोरोना महामारीपछि सीआईएनका कार्यमक्रहरूमा स्रोता सहभागिता पनि बढेको छ । मानिसले प्रश्न गर्न थालेका छन् । दिनकै सयौँ प्रश्न सीआईएनको आइभिआरमा रेकर्ड हुने गरेका छन् ।
उज्यालो नेटवर्कले ‘कोरोना क्याप्सुल’, ‘कोरोना जित्नेका कथा’ लगायतका कार्यक्रम चलाइरहेको छ । ‘कोरोना क्याप्सुल ‘मा कोरोनाबाट उत्पन्न डर कसरी हटाउने ? यसबाट बच्नको लागि कसरी सावधानी अपनाउने जस्ता विषयमा विज्ञ र चिकित्सकहरूको सुझावसहित सामग्रीहरू बज्ने गरेका छन् । यो कार्यक्रमलाई मन पराइएको तिमिल्सिना बताउँछन् ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको रेडियो बार्जुका स्टेशन म्यानेजर नन्दा थापा भन्छिन्, ‘बाजुरामा अन्य सञ्चारको माध्यमको पहुँच छैन । तर भारतबाट कोरोना पछि फर्कनेहरूका कारण बाजुरामा कोरोनाका बिरामी भने धेरै देखिए । उनीहरूलाई अब कसरी सुरक्षित बस्ने बारेमा सिकाउनु हाम्रो दायित्व हो ।’
सोही अनुसार चेतनामूलक कार्यक्रम बनाइरहेको उनी बताउँछिन् । समाचारमा डाक्टरका आवाज बजाउने, निको भएकाहरूका आवाज बजाउने जसले गर्दा अरु नागरिकमा आत्मविश्वास बढोस् अनि क्वारेन्टाइनमा कसरी बस्ने भनेर पनि समाचार र कार्यक्रम बनाइएको उनको भनाइ छ ।
रेडियोमा आर्थिक सङ्कट
लकडाउनको समयमा रेडियोले जति राम्रो भूमिका खेले, कोरोनाकै कारण रेडियोले अहिलेसम्मकै उच्च आर्थिक सङ्कट पनि झेल्नु परेको छ । रेडियोलाई मात्रै होइन, सबै जसो सञ्चार माध्यम यो समयमा अहिलेसम्मकै गहिरो आर्थिक सङ्कटबाट गुज्रिएका छन् । कथित ठूला मिडिया हाउसबाटै पत्रकारहरू निकालिनु परेको अवस्था रहेको छ ।
यस्तो अवस्थामा सानो वा थोरै लगानीमा चलेका रेडियोहरू झनै सङ्कटमा पर्ने अवस्था आएको रेडियो कर्णाली आवाज, हुम्लाका स्टेशन म्यानेजर नवराज महतरा बताउँछन् ।
कोभिड-१९ अघि औसतमा मासिक कारोबार १ लाख ५० हजारसम्म गर्दै आएका रेडियोले कोभिड-१९ पछि औसतमा ४० हजार मात्रै कारोबार गर्न सकेका छन् । सर्वेक्षण अनुसार २ सय २४ वटा रेडियोमध्ये झण्डै २० प्रतिशतले कोभिड-१९ पछि कर्मचारी कटौती गर्नु परेको छ ।
रेडियो मुक्ती, वुटवलमा कार्यरत अस्मिना पाण्डे भन्छिन्, ‘लगभग फागुनदेखि नै बजार शून्य जस्तै छ । विश्व बजारमा कोरोनाको कहर सुरु हुँदा नै त्यसको असर नेपालमा परिसकेको थियो ।
यो पाँच महिनाको अन्तरालमा विज्ञापनहरू त बजिरहेकै छन्, तर त्यसको भुक्तानी पाएका छैनौँ । रेडियोलाई आउनुपर्ने रकम नआएको कारण कर्मचारीहरूले तलब पाउन सकेका छैनन्।’ उनका अनुसार फाट्टफुट्ट केही सरकारी पीएसएहरू भने बजेका छन् र त्यो पनि कोरोना भाइरससँग सम्बन्धित मात्रै । ‘महिनामा लाख भन्दा बढी खर्च हुने रेडियोमा ८-१० हजारको विज्ञापन वा पीएसए मात्रै बजाएर कसरी रेडियो धान्न सकिएला ?’ उनी प्रश्न गर्छिन् ।
युनिसेफ, युएनडिपी, युनेस्को लगायत केही अन्तर्राष्ट्रिय निकायहले रेडियो कार्यक्रम उत्पादनको लागि सहयोग त गरेका छन् तर पर्याप्त भने नभएको उज्यालो नेटवर्कका तिमिल्सिना बताउँछन् । सीआईएनका प्रमूख दीपक आचार्यका अनुसार साझेदार संस्थाहरूले बालबालिका तथा युवा लक्षित कार्यक्रम उत्पादन गर्नमा सघाएका छन् । ती कार्यक्रमहरू बजाएबापत रेडियोहरूलाई पनि थोरै रकम उपलब्ध त हुन्छ तर त्यो पर्याप्त भने नभएको उनी बताउँछन् ।
रेडियो नेपालको कथा अलि फरक छ । भूकम्पको बेला दातृ निकायसँग सहकार्य गरेर कार्यक्रम उत्पादन गरेको भए पनि कोरोना महामारीका बेला रेडियो नेपालले एउटा पनि प्रायोजित कार्यक्रम पाएको छैन र चलाएको छैन । डा. लम्सालका अनुसार कोरोनाको विषयमा सरकारी प्रायोजित कार्यक्रम पनि रेडियो नेपालसँग छैन ।
जिल्लामा रहेका रेडियोहरूमा पनि प्रायोजनका कार्यक्रमहरू पुगेका छैनन् । अहिले स्थानीय सरकारका सहयोगमा केही जनचेतनाका कार्यक्रमहरू बजिरहेका छन् । तर ती कार्यक्रमहरू उत्पादन गरेबापत रकम भने निकै कम रहेको छ । त्यो रकमले एउटै जिल्लामा रहेका दर्जनौं रेडियोको खर्च धानिने अवस्था छैन ।
अनुसन्धानकर्ता भुमि चापागाई भन्छन्, ‘जबजब सङ्कट र विपद्हरू आउँछन् तब रेडियो सुन्ने बढ्ने गरेका छन् । अध्ययनले पनि रेडियोका स्रोताहरू उल्लेखनीय रहेको देखाएको छ । भूकम्पपछि भन्दा पनि कोरोना महामारीपछि रेडियो सुन्नेहरूको सङ्ख्या राम्रो छ । तर रेडियोका लागि यसैगरी टिकिरहनु चुनौती पनि छ ।’
रेडियोमा आम्दानी नै नभएपछि रेडियोहरूले महिनाको पूरै तलब कर्मचारीलाई दिन सकेका छैनन् । कतिपय रेडियोले कर्मचारी पनि कटौती गरेका छन् । अत्यावश्यक कर्मचारीहरू जस्तै समाचार बाचक, एकदुई जना प्राविधिक र कार्यक्रम प्रस्तोताबाहेक अन्य कर्मचारीहरू कटौतीमा परेका छन् ।
नेपाल पत्रकार महासंघका अनुसार देशभरबाट झण्डै ५ हजार पत्रकारले जागिर गुमाएका छन् ।
सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले २ सय २४ वटा सामुदायिक रेडियोमा गरेको एउटा सर्वेक्षणले पनि निकै ठूलो आर्थिक संकट परिरहेको देखाउँछ ।
कोभिड-१९ अघि औसतमा मासिक कारोबार १ लाख ५० हजारसम्म गर्दै आएका रेडियोले कोभिड-१९ पछि औसतमा ४० हजार मात्रै कारोबार गर्न सकेका छन् । सर्वेक्षण अनुसार २ सय २४ वटा रेडियोमध्ये झण्डै २० प्रतिशतले कोभिड-१९ पछि कर्मचारी कटौती गर्नु परेको छ ।
चाखलाग्दो र सकरात्मक कुरा के छ भने आर्थिक सङ्कट झेँलिरहे पनि ९८ प्रतिशत रेडियोले कोरोनाबारेको चेतनामूलक कार्यक्रम उत्पादन र प्रसारण गरेका छन् ।
धेरै रेडियोले स्थानीय सरकारसँगको साझेदारीमा कार्यक्रम चलाएका छन् भने गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम चलाउनेको सङ्ख्या पनि उत्तिकै छ ।
अकोराबका अध्यक्ष सुबास खतिवडा सामुदायिक रेडियोहरू आर्थिक हिसाबले निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँछन् ।
अझ व्यावसायिक रेडियोलाई झनै समस्या परेको छ । व्यापार व्यवसाय सुस्त हुँदा विज्ञापन र प्रायोजन घटेको छ । त्यसले कर्मचारीदेखि रेडियोको व्यवस्थापनसम्मलाई असर गरेको छ । विपद्का समयमा प्रभावकारी ढङ्गले समाचार प्रवाह गर्न सक्षम रहेका रेडियोहरू आर्थिक हिसाबले भने सङ्कटमा रहेका छन् ।
रेडियो चलाउनको लागि आर्थिक संकट भने देखा परेको छ । रेडियोमा देखिएको आर्थिक समस्या हटाउनको लागि रेडियोका ‘कन्टेन्ट’ सुधार गर्ने र विज्ञापन तथा प्रायोजित कार्यक्रमहरू बढाउन सकेमा रेडियोको दीगोपना बढ्छ ।
ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेका अनुसार कोभिड-१९ को कारण देशभरका व्यवसायिक रेडियोले कम्तिमा ५० देखि ८० प्रतिशतसम्म घाटा बेहोर्नु परेको छ ।
व्यापारिक दृष्टिकोणबाट घाटा बेहोर्नुपरेको भए पनि कुनै पनि रेडियोले आफ्नो प्रसारण भने नरोकेको न्यौपाने बताउँछन् । बानसँग २ सय व्यवसायिक रेडियोहरू आबद्ध रहेका छन् । यो परिस्थितिमा केन्द्र सरकारले लोककल्याणकारी विज्ञापन बापत बानमार्फत झण्डै ८० लाख रुपैयाँ रेडियोहरूलाई वितरण गरेको छ ।
रेडियोको भविष्य छ तर चुनौती पनि छ
शेयरकास्ट इनिसियटिभमा आबद्ध अनुसन्धानकर्ता भुमि चापागाई भन्छन्, ‘जबजब सङ्कट र विपद्हरू आउँछन् तब रेडियो सुन्ने बढ्ने गरेका छन् । अध्ययनले पनि रेडियोका स्रोताहरू उल्लेखनीय रहेको देखाएको छ । भूकम्पपछि भन्दा पनि कोरोना महामारीपछि रेडियो सुन्नेहरूको सङ्ख्या राम्रो छ । तर रेडियोका लागि यसैगरी टिकिरहनु चुनौती पनि छ ।’
रेडियोसँग अवसर यस अर्थमा पनि छ कि रेडियो प्रभावकारी माध्यम हो । सस्तो छ, सुलभ छ । काम गर्दागर्दै सुन्न सकिन्छ । दूरदराजमा पनि उत्तिकै पहुँच रहेको छ । र इन्टरनेटको माध्यमबाट सुन्छु भने पनि सहजै उपलब्ध हुन्छ । त्यसैले रेडियो धेरैको पहुँचमा पुग्न सक्छ । यसर्थ पनि कोभिड-१९ को बारेमा चेतना र सूचनाहरू नागरिकमाझ दिनुपर्दा रेडियो भरपर्दो र सर्वसुलभ माध्यम बन्न सकेको छ । तर यसका चुनौतीहरू पनि रहेको विज्ञहरू बताउँछन् ।
सञ्चारविज्ञ भानुभक्त आचार्य भन्छन, ‘रेडियो समयानुसार आफूलाई सुधार गर्दै आएको माध्यम पनि हो । हिजो रेडियो सेटमा, आज मोवाइलमा, इन्टरनेटमा मात्रै होइन, फेसबुक लाइभमा पनि रेडियो उपलब्ध छ । यस अर्थमा रेडियो अझै व्यापक छ । तर ‘कन्टेन्ट’ मा भने सुधार गनुपर्ने देखिन्छ ।’
स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा रहेका रेडियोलाई विशेष व्यवस्था गरिदिने वा सङ्घीय सरकारको तर्फबाट नै पनि रेडियोको लागि नीतिगत केही व्यवस्था हुन सके कोरोना भाइरस जस्तो महामारीका समयमा मात्रै होइन, हर अप्ठ्यारो र सजिलो समयमा रेडियोहरू साँच्चिकै नागरिकका सूचनाको सारथी बन्न सक्छन् ।
उनी भन्छन्, ‘कोरोनासँग सम्बन्धित होस् वा अन्य कुनै पनि जानकारी । यसअघि नै छापामा आइसकेको जस्तो छ वा कुनै अनलाइनको जस्तै छ या त टेलिभिजनको भन्दा फरक छैन भने मान्छेले सूचनाको लागि किन रेडियो सुन्ने ? त्यसैले रेडियोले मानवीय रुचिका र छोटामीठा अन्यत्र नआएका सामाजिक विषयवस्तुमा समाचार र कार्यक्रम बनाउन सक्यो भने रेडियोको भविष्य अझै उज्वल छ ।’
तर मानिसको ध्यान तान्न र खिच्न सक्ने खालका कार्यक्रम नेटवर्कहरूले बाहेक अरु रेडियोहरूले कमै मात्रामा बनाएको पाइन्छ । अरुकै सूचनालाई दोहोर्याएर पढ्ने हो भने रेडियोका स्रोता घट्न सक्ने उनी बताउँछन् । तर अलिकति सिर्जनात्मक बनेर नयाँनयाँ जानकारी दिने हो भने रेडियोले विश्वसनीयता अझै बढाउँछ, जुन आवश्यक भइसकेको छ ।
अन्त्यमा,
अनुसन्धानका आधारमा तथा स्रोता र सरोकारवालाको बुझाइका आधारमा पनि भन्न सकिन्छ कि कोरोना भाइरस अर्थात् कोभिड १९ र यसले उत्पन्न गराएको विषम परिस्थिति एवं सीमित स्रोतसाधनका बाबजुद पनि रेडियोहरूले सही सूचना प्रवाहमा जुन किसिमको भूमिका खेले त्यो उल्लेखनीय मात्रै होइन, प्रशंसनीय पनि छ । नागरिकले पनि सूचनाको लागि नजिकैको रेडियोमा निर्भर रहेको देखिन्छ ।
तर यति हुँदाहुँदै पनि रेडियो चलाउनको लागि आर्थिक संकट भने देखा परेको छ । रेडियोमा देखिएको आर्थिक समस्या हटाउनको लागि रेडियोका ‘कन्टेन्ट’ सुधार गर्ने र विज्ञापन तथा प्रायोजित कार्यक्रमहरू बढाउन सकेमा रेडियोको दीगोपना बढ्छ ।
स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा रहेका रेडियोलाई विशेष व्यवस्था गरिदिने वा सङ्घीय सरकारको तर्फबाट नै पनि रेडियोको लागि नीतिगत केही व्यवस्था हुन सके कोरोना भाइरस जस्तो महामारीका समयमा मात्रै होइन, हर अप्ठ्यारो र सजिलो समयमा रेडियोहरू साँच्चिकै नागरिकका सूचनाको सारथी बन्न सक्छन् ।
यो सामग्री मिडिया फाउण्डेसनको कोभिड-१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो । लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७, १७:२८