काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि विभाजनको नजिक पुगेको भन्दै बिभिन्न गुटका शीर्ष नेता अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू हिजो प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । भेलाले नेकपालाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अलग गरेर जाउँ भनेर प्रस्ताव गरेको अध्यक्ष प्रचण्डले अरु नेतालाई जानकारी गराउनुभएको थियो । ओली पक्षका नेताहरूले भने पूर्व एमालेबीच देखिएको ध्रुविकरण मिलाउनका लागि पुराना नेता प्रदीप नेपालसँग अनुरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीका सल्लाहकारहरू सूर्य थापा, राजन भट्टराई, विष्णु रिमाल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री शङ्कर पोखरेललगायत नेताहरू हिजो नेता नेपालको निवासमा पुग्नुभएको थियो ।
सीआईएनसँग कुराकानी गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले भने नेकपामा तत्काल फुटको स्थिति नभएको टिप्पणी गर्नुभयो । पार्टीलाई फुटबाट जोगाउनका लागि सबै नेताकार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७, ११:३९