काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने पूर्व निर्धारित तालिका छ ।
तर नोबेल कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा महाधिवेशन गर्न असम्भव भन्दै सार्न खोजिएको छ । महाधिवेशनको मिति सार्ने वा नसार्ने बहसमा जिल्लास्तरका नेताकार्यकर्ता अन्यौलमा छन् ।
पार्टीका केन्द्रीय नेतामध्ये कोही महाधिवेशन सार्नुपर्ने त कोही सार्न नहुने पक्षमा उभिरहँदा जिल्ला स्तरका नेतामा पनि त्यस्तै मनस्थिति देखिन्छ ।
महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका चितवनका नेता अञ्जनी श्रेष्ठले भन्नुभयो, ‘मिलेसम्म त तोकिएकै समय चाहन्छ नि सबैले । नयाँ पिडिलाई पनि आउने इच्छा हुन्छ । हामी सबैले चाहेको त समयमै होस् भन्ने हो । नेताहरुले पनि त्यही चाहना राख्नुभएको छ । तर अब यस्तो बेला छ, त्यो भएर मात्रै हो । नत्र त तोकिएकै समयमा हुने थियो नि ।’
महोत्तरीबाट महाधिवेशन प्रतिनिधि रहनुभएका नेता संगिता मण्डल भने महाधिवेशन सार्नुपर्ने पक्षमा हुनुहुन्छ ।
काँग्रेस पार्टी कार्यालयका अनुसार हाल मुलुकभरमा ४ लाख ९२ हजार क्रियाशील सदस्य छन् । यो सङ्ख्यालाई अबको ४ महिनामा १० लाख पु¥याउने लक्षका साथ ७४ जिल्लामा सदस्यता वितरण अभियान चलाइएको छ ।
पार्टी महासमिति सदस्य समेत रहनुभएका सुर्खेतका खड्ग बस्याल भने पार्टी विधान अनुसार नचलेकोमा दुःखी हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘फागुनमा अधिवेशन तोक्ने अनि अधिवेशन तोकिसकेपछि पनि नियुक्तिहरु गर्दै जाने, अनुशासनभन्दा बाहिर जाने हो भने नीति/नियम विधि/विधान बनाएको के काम हुन्छ ? यसको पालना त गर्नेप¥यो भन्ने मेरो भनाइ हो ।’
महाधिवेशन गर्दा नेताहरूको भीडभाड हुने र यसले कोरोना सङ्क्रमण फैलाउने भएकाले सार्नुपर्ने सभापति देउवा पक्षको तर्क छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदमा बसिरहने खेलका रुपमा महाधिवेशन सार्न खोजिएको बुझेको छ ।
बाँकेका महाधिवेशन प्रतिनिधि आशा विक सम्भावना नभएको कुरामा बहस गर्नुको औचित्य नभएको बताउनुहुन्छ ।
विकले भन्नुभयो, ‘महाधिवेशन समयमा होस्, नयाँ कमिटी आओस् भन्ने सबै नेता कार्यकर्ताको चाहना छ नि । त्यति हुँदाहुँदै पनि अहिलेको समय र परिस्थितिका कारण सार्नु उपयुक्त हुन्छ ।’
काँग्रेसमा गुटको राजनीति दुई काँग्रेस एक भएदेखिकै हो । त्यसबेला देखि सुरु भएको ६० र ४० को भागबण्डाले निरन्तरता पाउँदा गुटगत बहस पनि रोकिएको छैन ।
महाधिवेशनको मिति तय भइसक्दा पनि सभापतिले नियुक्ती लगायतका कामलाई जारी राखेपछि पौडेल पक्षको मनमा कतै यो चुनावी रणनीति त हैन भन्ने लागेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७, १६:४७