काठमाडौँ । पार्टीभित्र देखिएको विवादका बारेमा सत्तारुढ नेकपाका शीर्ष नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा समिकरण बनाउने खेल चलेका कारण विवाद उत्कर्षमा पुगेको बताएको छ ।
अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका निणर्य कार्यान्वयन नगर्ने बरु पार्टी फुटाएर जाने धम्की दिएका कारण समस्या उत्पन्न भएको बताएको छ ।
नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभएको छ ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको उप प्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलको भनाइ छ ।
पार्टी एकता गर्दा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुने पनि पोखरेलको भनाइ छ । प्रधानमन्त्रीलाई छिर्के लगाउने खेल खेलियो भने समस्या झन् झन् बल्झिने पोखरेलको टिप्पणी छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने धारणा राख्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरूसँग भएको छलफलपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७, ११:०९