काठमाडौँ । नेपालको संसदीय अभ्यास, परम्परा र वर्तमान अवस्थाका बारेमा प्रवचन, हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विज्ञसहितको सहभागितामा भएको भर्चुल कार्यक्रम तीनवटा सत्रमा गरिएको थियो । पहिलो चरणमा संसदमा कानुन निर्माण प्रक्रिया, सांसदको भूमिका र युवाहरुको सहभागिताका विषयमा छलफल भएको थियो ।
दोस्रो चरणमा हाजिरी जवाफ प्रतियोगिता र तेस्रो चरणमा वक्तृत्वकला सम्पन्न भएको थियो ।
संविधानविद् डा विपिन अधिकारीले संसदीय अभ्यास, संघीय र प्रदेश संसदको भूमिका, कानुन निर्माण प्रक्रिया र युवाहरुले राख्नुपर्ने चासोका विषयमा विषेश प्रस्तुति सुरुमा राख्नु भएको थियो । उहाँले युवाका सवाललाई संसदमा स्थापित गर्न युवाहरुको खबरदारी र सक्रियता महत्वपूर्ण हुने बताउनुभयो ।
सामुदायिक सूचना नेटवर्क सीआईएनको साप्ताहिक कार्यक्रम "हेलो सांसद" को आजको अङ्कमा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट २७ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगिताका लागि बिभिन्न विषयवस्तुका ५२ वटा प्रश्नहरु सोधिएको थियो ।
पहिलो चरणमा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित ९ वटा प्रश्न सोधिएको थियो । प्रतियोगीहरुलाई प्रश्न छान्नका लागि मौका दिइएको थियो भने प्रश्न स्टुडियोबाट सोधिएको थियो ।
बाँकी प्रश्न दोस्रो चरणमा सोधिएको थियो । प्रतियोगिगतामा दार्चुला पहिलो, अछाम र डोटी दोस्रो र कैलाली तेस्रो भएका छन् । पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र केही दिनमा पठाइने सीआईएनका सम्पादक गोबिन्द खड्काले बताउनुभयो ।
सम्भव भएसम्म विजयी क्याम्पसहरुलाई सदूरपश्चिम प्रदेशको राजधानी वा धनगढीमै पुरस्कार हस्तान्तरण गर्ने तयारी भएको छ ।
प्रतियोगितामा अछाम बहुमुखी क्याम्पस, जयपृथ्वि बहुमुखी क्याम्पस बझाङ, डोटी बहुमुखी क्याम्स, दार्चुला बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस बैतडी, सूदुरपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस कञ्चनपुर, कैलाली बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस र डडेलधुरा क्याम्पस सहभागी भएका थिए ।
९ वटै क्याम्पसका तर्फबाट एकएक जनाले "संसदमा नागरिकको पहुँच र खुला संसदका लागि युवाको भूमिका" विषयमा दुईदुई मिनेटमा वक्तृत्वकला प्रस्तुत गर्न पनि समय दिइएको थियो ।
संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा र पत्रकार कृष्णा पौडेल सम्मिलित मूल्याङ्कन समितिले विषय, भाव र तर्कका आधारमा डडेलाधुरालाई वक्तृत्वकलामा उत्कृष्ट घोषणा गरेको थियो ।
प्रतियोगितामा सहभागीहरुले नोबेल करोना भाइरसको महामारीका बीच आयोजित भर्चुअल हाजिरी जवाफ प्रतियोगिताले आफूहरुलाई नयाँ ज्ञान आर्जनका लागि फाइदा पुर्याएको बताएका छन् ।
कार्यक्रममा २७ जना प्रतियोगीसहित, विद्यार्थी, क्याम्पस प्रमुख, प्राध्यापक, पत्रकारसहित करिब ८० जनाको सहभागिता थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७, १०:३३