काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो ।
हिजोको यो आदेशसँगै यसअघि सर्वोच्च अदालतले गौतमलाई थप जिम्मेवारी नदिनु भनी सर्वोच्च अदालतले नै दिएको अल्पकालिन अन्तरिम आदेश पनि निष्प्रभावी बन्न पुगेको छ ।
सर्वोच्च अदालतको आदेशपछि गौतम राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न पाउँनुहुने छ ।
उहाँ संसदीय समितिकै सदस्य बन्न वा मन्त्री बन्न समेत बाधा हुने छैन । सर्वोच्च अदालतले आजको संवैधानिक इजलासको आदेशको विवरण सार्वजनिक गरिसकेको छैन ।
आफूविरुद्ध परेको रिट खारेज भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैलाई आभार प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७, ०६:५४