काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक भोलि दिउँसोका लागि बोलाइएको छ ।
महासचिव विष्णु पौडेलले सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए ।
तर अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय बैठक सडकमा हिँड्दाहिँड्दै भन्दा पनि आवश्यकता र विधिअनुसार बस्ने व्यवस्था रहेको बताउनुभएको थियो ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग प्रधानमन्त्रि ओलीले गरेको भेट, सरकारका पछिल्ला कामकारबाहीका कारण सत्तारुढ नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह सन्तुष्ट छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७, १०:१३