काठमाडौँ । धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।
विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको क्याम्पस प्रमुख डा शिवमङ्गल प्रसादले जानकारी दिनुभयो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७, १०:२७