काठमाडौँ । कर्णाली प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस पहिलो भएको छ ।
सामुदायिक सूचना नेटवर्क सीआईएनको आयोजनामा भएको भर्चुअल हाजिरिजवाफ प्रतियोगितामा मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस पहिलो भएको हो भने दैलेखको नारायण क्याम्पस दोस्रो र कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पस तेस्रो भएको छ ।
सीआईएनको साप्ताहिक कार्यक्रम "हेलो सांसद" अन्तर्गत भएको हाजिरिजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा कर्णाली प्रदेशका दस जिल्लाबाट एकएक सरकारी क्याम्पसले सहभागिता जनाएका थिए । प्रतियोगितामा दसवटा क्याम्पसबाट ३ जनाका दरले ३० जना स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।
प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएका क्याम्पसहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने सीआईएनका सम्पादक गोबिन्द खड्काले बताउनुभयो ।
विजयी समूहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक कार्यकम्रबीच पुरस्कार र प्रमाणपत्र दिइने उहाँले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगितामा भने सल्यानको सल्यान बहुमखी क्याम्पसका रमेश बीसी सर्वोतकृष्ट हुनुभएको छ ।
बीसीले १ सय ४६ नम्बर ल्याएर सर्वोतकृष्ट स्थान हासिल गर्नुभएको मूल्याङ्कन समिति संयोजक डा दीपक गौतमले बताउनुभयो । हाजिरिजवाफ तथा वक्तृत्वकला प्रतियोगिताका लागि सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक डा दीपक गौतम र शिक्षण सहायक भूमि सापकोटाले मूल्याङ्कनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा पनि दसवटा क्याम्पसले भाग लिएका थिए। प्रतियोगितामा सर्वोतकृष्ट स्थान हासिल गर्नेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको सीआईएनका सम्पादक खड्काले जानकारी दिनुभयो ।
हाजिरिजवाफ र वक्तृत्वकला प्रतियोगितामा कालिकोटको तिलाकर्णाली बहुमुखी क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, जुम्लाको जुम्ला बहुमुखी क्याम्पस, डोल्पाको डोल्पो क्याम्पस, दैलेखको नारायण क्याम्पस, मुगुको रारा क्याम्पस, रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस, सल्यानको सल्यान बहुमुखी क्याम्पस, सुर्खेतको मध्यपश्चिम विश्वविद्यालय र हुम्लाको मानसरोवर बहुमखी क्याम्पसले भाग लिएको थियो ।
प्रतियोगी विद्यार्थी, सम्बन्धित क्याम्पसका प्राध्यापक, अरु विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधि र पत्रकार गरी कार्यक्रममा एक सयभन्दा धेरैको सहभागिता थियो ।
हाजिरिजवाफ प्रतियोगितामा कर्णाली प्रदेशसभा गठन, प्रक्रिया र वर्तमान अवस्थाका साथै समग्र मुलुकको संसदीय अभ्यासका बारेमा प्रश्न सोधिएको थियो । वक्तृत्वकला प्रतियोगिताको शीर्षक भने "संसदमा नागरिकको पहुँच र युवाको भूमिका" राखिएको थियो ।
प्रतियोगिता सुरु हुनुहअघि खुला संसद र युवा सहभागिता तथा भूमिकाका बारेमा सांसद राधेश्याम अधिकारीले विचार राख्नुभएको थियो । उहाँले संसदभित्र र बाहिरबाट युवाहरुले जिम्मेवारी अनुसार निती निर्माण र कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।
चुनावका बेलामा गाउँघरमा आउने नेता,उम्मेदवारले गरेका प्रतिवद्धता पूरा भए वा नभएको बारेमा जानकारी राख्ने, सांसदलाई प्रश्न गर्ने काम युवाले गर्नुपर्नेमा जोड दिँदै सांसद अधिकारीले संसदमा हुने हरेक छलफलमा युवाले आआफ्नो स्थानबाट भाग लिनुपर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७, ११:१४