काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
११ दिनको अस्पताल बसाइँ पछि आफू घर फर्किएर आराम गरिरहेको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिनुभएको छ ।
"११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्," गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उहाँको भनाइ छ ।
यही कात्तिक १० गते उहाँको पीसीआर जाँचको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उहाँलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ गजुरलेलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको छ ।
कोरोना महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै गजुरेलले दीपावलीको शुभकामना दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७, १०:३६