नेपालगञ्ज । मुस्लिम समुदायले आयोजना गरेको एउटा कार्यक्रममा भेटिएका नेपालगञ्ज धम्बोझीका युवा मोहम्मद जमिल हलवाई कुर्ता पैजवासँगै ढाका टोपीमा चिटिक्क सजिनुभएको छ ।
तीन वर्षदेखि हलवाईले ढाका टोपी लगाउँदै आउनुभएको छ । आफ्नो पहिचानका लागि ढाका टोपी लगाउने गरेको उहाँले सुनाउनुभयो ।
‘भारतको लखनउ, दिल्ली, कानपुरलगायत स्थानमा जाँदा पनि ढाका टोपी लगाउँछु । विवाहमा जाँदा पनि लगाउँछु ।’ हलवाईले भन्नुभयो, ‘मलाई राम्रो लाग्छ अनि नेपालीको पहिचान देखाउन पाएकोमा गर्व लाग्छ ।’
मस्जिदमा जाँदा होस् वा काम विशेषले घर बाहिर निस्कँदा नेपालगञ्जका मुस्लिम समुदायका अगुवा मात्र होइन, युवा पुस्ताको शीरमा पनि ढाका टोपी देख्न सकिन्छ । नेपाली टोपीको कुरा गर्ने वित्तिकै यहाँका मदरुद्दिन मियालाई इराकमा भएको एउटा घटनाको याद आउँछ ।
मोहम्मद अरफान खान भन्नुहुन्छ, ‘कुनै कार्यक्रममा जाँदा दौरासुरुवाल, सुरुवालकुर्था पनि लगाउँछौँ अनि ढाका टोपी पनि । यी सबै लगाउँदाखेरी के कुरामा गर्व लाग्छ भने हामी नेपाली हौँ र नेपालको पोशक लगाएका छौँ ।’
इराक मुस्लिम देश हो । तर ढाका टोपी लगाएकै कारण त्यहाँ पुगेका नेपालीले आफूलाई नेपाली भनेर चिनेको र कुराकानी गरेको उहाँले सम्झनुभयो ।
‘६ महिना अगाडि ढाका टोपी लगाएर इराक गएको थिएँ । पूरा इराक घुमेँ म तर त्यो टोपी मैले कहिल्यै निकालिन । त्यहाँको मान्छेले त खास केही भनेनन् । तर नेपालबाटै गएकाहरू एयरपोर्टतिर, कतै कतै भेटिँदा उनीहरू मसँग आएर तपाईँको घर कहाँ हो, के हो, कहिले आउनुभयो, के कामले आउनुभयो ? भन्दै सोधे ।’
मदरुद्दिनले भन्नुभयो, मैले ढाका टोपी लगाएकै कारणले जवाफ दिन पाएँ । ढाका टोपी लगाएर हिँड्दै गर्दा सारजहाँ एयरपोर्टमा काम गर्ने नेपाली चेलीहरू मसँग कुरा गर्न आए ।’
नेपालगञ्जका मुस्लिम समुदायले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन् ।
त्यसैले यहाँका मुस्लिम समुदायले ढाका टोपीलाई महत्व दिएका हुन् । कार्यक्रम, समारोह र पाटीमा मात्र नभई घर, पसल तथा बाहिरी देश जाँदा पनि उनीहरूको शीरमा ढाका टोपी छुट्दैन ।
स्थानीय मोहम्मद अरफान खान भन्नुहुन्छ, ‘कुनै सहकारीको कार्यक्रम वा अरु कुनै कार्यक्रममा जाँदा पनि दौरासुरुवाल, सुरुवालकुर्था पनि लगाउँछौँ अनि ढाका टोपी पनि । यी सबै लगाउँदाखेरी के कुरामा गर्व लाग्छ भने हामी नेपाली हौँ र नेपालको पोशाक लगाएका छौँ । टोपी त राष्ट्रिय चिन्ह जस्तै लाग्छ ।’
पूजापाठ गर्दा वा शुभ साइत गर्दा इस्लाम धर्मावलम्बीले शीर छोप्ने गर्छन् । मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीहरूले आफ्नो पहिचान ढाका टोपीको प्रयोग बढाउँदै लगेका छन् ।
पाका उमेर समूहका मुस्लिम समुदायले पहिले पनि ढाका टोपी लगाउने गरेका थिए । तर यो क्रम पहिलेभन्दा अहिले बढ्दो छ ।
ढाका टोपी लगाउनैपर्ने खास धार्मिक कारण त छैन । तर टाउको खुलै छाड्नु हुदैन भन्ने इस्लाम धर्ममा उल्लेख गरिएका कारण पनि ढाका टोपीप्रति उनीहरू आकर्षित भएको पाइन्छ ।
पूजापाठ गर्दा वा शुभ साइत गर्दा इस्लाम धर्मावलम्बीले शीर छोप्ने गर्छन । मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीहरूले आफ्नो पहिचान ढाका टोपीको प्रयोग बढाउँदै लगेका छन् ।
‘हाम्रो धार्मिक हिसाबले पनि खाली टाउको नराख्ने भन्ने छ । टाउको जतिबेला पनि ढोक्दा त्यो टाउको सुरक्षित हुन्छ । हावा, सूर्यको प्रकाश वा कुनै पनि चिजले पनि असर गर्दैन ।’ नेपालगञ्जका मदरुद्दिन मियाले भन्नुभयो, ‘धार्मिक हिसाबले वैहेलिक तौरतरिकाबाट नै प्रायः टोपी लगाउने परम्परा मुस्लिम समुदायमा छ ।’
११ औँ देखि १३ औँ शताब्दीको बीचमा बङ्गलादेशको ढाकाबाट नेपालमा सेन वंश प्रवेश भएको इतिहास छ । सेन वंशको राज्य पाल्पामा थियो । यसै कारण पाल्पाली ढाटा प्रचलनमा आएको इतिहासकारहरू बताउँछन् ।
१५ औँ शताब्दीपछि मुस्लिम समुदायका मानिसले चुरापोते, सिरकडसना, मुस्लिम संस्कृतिका लुगाफाटोको साथमा टोपी पनि ल्याएर बेच्न थालेपछि सर्वसाधरणले ढाका टोपी लगाउन थालेको इतिहासमा पाइन्छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५, १६:३७