काठमाडौँ । लुम्विनी प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा प्यूठान क्याम्पस खलङ्गा पहिलो भएको छ ।
सामुदायिक सूचना नेटवर्क सीआईएनले साप्ताहिक कार्यक्रम "हेलो सांसद" मा आयोजना गरेको हाजिरिजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा जम्मा ७० अङ्क ल्याएर प्युठान पहिलो भएको हो ।
प्रतियोगितामा ६० अङ्क ल्याएर गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस दोस्रो र ५५ अङ्क ल्याएर कपिलवस्तुको सिद्धार्थ क्याम्पस तेस्रो भएको छ ।
प्यूठान क्याम्पसबाट आशा श्रेष्ठ, रमेश विश्वकर्मा र रविन विश्वकर्मा, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीबाट हुमाकान्त पोखरेल, लक्ष्मी अर्याल र नारायण भुसाल अनि सिद्धार्थ क्याम्पस कपिलवस्तुबाट अरुणा अर्याल, यमुना पौडेल र गङ्गाराम अर्याल प्रतियोगितामा सहभागी हुनुभएको थियो ।
प्रतियोगीलाई पहिलो चरणमा र्यापिड राउण्ड अन्तर्गत १ मिनेटमा अधिक्तम ९ प्रश्न सोधिएको थियो भने दोस्रो चरणमा लुम्विनी प्रदेशसभाको गठन, राजनितक दलको सहभागिता र अभ्यासका बारेमा एकएक वटा प्रश्न सोधिएको थियो ।
हाजिरिजवाफमा पहिलो, दोस्रो र तेस्रो हुने क्याम्पसलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ तथा प्रमाणपत्र दिइने सीआईएनका म्यानेजर दीपक आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा भएको "खुला संसद र मेरो भूमिका" विषयक वक्तृत्वकला प्रतियोगितामा कपिलवस्तुको सिद्धार्थ क्याम्पसका अरुणा अर्यालले ६८ अङ्क ल्याएर सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको छ ।
सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सीआईएनका सम्पादक गोविन्द खड्काले बताउनुभयो ।
वक्तृत्वकला प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका सहायक क्याम्पस प्रमुख डम्बर पुन र बर्दियाको बाँसगढी बहुमुखी क्याम्पसका प्रमुख ईश्वरी रिजालले मुल्याङ्कनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
जुममार्फत भएको हाजिरिजवाफ प्रतियोगितामा लुम्विनी प्रदेशका ११ जिल्लाको सहभागिता थियो भने वक्तृत्वकला प्रतियोगितामा १० जिल्लाले भाग लिएका थिए । प्रतियोगी, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत गरी कार्यम्रममा ९० जनाभन्दा धेरैको सहभागिता थियो ।
कार्यक्रमको सुरुमा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी तारानाथ दाहालले "खुला संसदको अभ्यास र युवाको भूमिका" का बारेमा विचार राख्दै युवाले चुनावदेखि संसदसम्मै सार्वजनिक महत्वका बारेमा सचेत गराउने र झकझक्याउने काममा लाग्नुपर्ने बताउनुभयो ।
कानुन निर्माण र बजेट निर्माणमा युवाले सरोकारवाला निकाय र पक्षमा आफ्नो साझेदारी खोज्नुपर्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७, ०९:१५