काठमाडौँ । पार्टीभित्रको विवाद समाधानका लागि सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।
हिजो अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालय तथा स्थायी कमिटीका केही नेताहरुसँग पार्टीभित्र देखिएको विवाद बारेमा कुराकानी गर्नुभएको छ ।
छलफलका क्रममा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष प्रचण्डलाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।
महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको बताइएको छ । उहाँले पार्टी भित्रको सवाल जवाफले एकताको डोरी नचुडिने पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गर्नुभएको छ । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पन्नाको प्रस्ताव राख्नुभएको थियो ।
यो बिषयलाई लिएर पार्टी विभाजनको स्थितिमा पुगेको टिप्पणी भइरहेका बेलामा दोस्रो तहका नेताहरु समन्वयमा जुटेका हुन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७, ११:१२