काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी बैठक बोलाउनका लागि दुई अध्यक्षबीच सहमति हुनुपर्ने अध्यक्ष केपी शर्मा ओलीको विचारमा असहमति जनाउँदै प्रेस नोट जारी गर्नुभएको छ ।
पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै अब चाहेमा समस्या पनि समाधान गर्न सकिनेमा उहाँले जोड दिनुभएको छ ।
एक जना सदस्यले बैठक बसाल्न माग गर्दा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने बताउँदै उपाध्यक्ष गौतमले बैठक बस्न हुँदैन भन्ने विचारलाई पार्टी महासचिवले साथ दिन नहुने उल्लेख गर्नुभएको छ ।
नेकपाको हिजो बसेको सचिवालय बैठकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले यस्तो बताउनुभएको हो ।
पार्टीको जीवन कमिटीका बैठकहरुमा र बैठकहरुको जीवन छलफलमा हुने बताउँदै गौतमले भन्नुभएको छ ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न शुरु गर्नासाथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।’
गौतमले बैठक बस्ने वातावरण बनाउन मेहनत गर्नेहरुलाई धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७, १२:३०