काठमाडौं ।
विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ ।
अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो ।
धन्सारको शुभारम्भ गर्दै रेग्मीले भन्नुभयो, ‘यस्तो पोर्टल नेपालमा आजसम्म थिएन । यो अति नै आबश्यक थियो । यो पर्यटनसँग पनि असाध्यै जोडिएको छ । नेपाल चिनाउनु छ, तर सबै ठाउँमा बोर्ड पुग्दैन । यो धन्सारले त्यस्तो ठाउँमा काम गर्छ भन्ने मेरो विश्वास छ । आगामी दिनमा सहकार्य गरि अघि बढ्न चाहान्छौं ।’
धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने आफूले आशा राखेको उहाँले बताउनुभयो । नेपालका भौगोलिक अवस्थिति, कला, सँस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको बताउनुभयो ।
कला सँस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उहाँले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताउनुभयो ।
अधिकारीले भन्नुभयो, ‘डेढ बर्ष अघिको योजना बिदेशीले यस्ता बस्तु स्टक गर्न हामीलाई प्रस्ताव ग¥यो, तर यो काम हामी आफैंले किन नगर्ने ? भन्ने सोंचेर हामीले यो स्थापना गर्न सफल भयौं । नेपालमै पहिलो पटक यस्तो गरेका हौं ।’
उहाँले अगाडी भन्नुभयो, ‘हामी सबैले यसमा सहकार्य गरौं । नेपाललाई देश बिदेशमा चिनाउन हातेमालो गरौं । फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् ।’
धन्सार मार्फत् आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्ने उहाँको भनाइ छ ।
धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने र प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ ।
धन्सार मार्फत् बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफैं तोक्न पाउनेछन् ।
धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्ने विश्वास लिएको अधिकारीले बताउनुभयो ।
त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७, १०:५२