काठमाडौं ।
१४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । संसद सचिवालय परिसर, सिंहदरबारमा हिजो रक्तदान गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताउनु भएको छ ।
रक्तदान कार्यक्रको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोना सृजित विषमताका बेला गरिएको रक्तदानको कयौं गुणा महत्व रहेको चर्चा गर्नुभयो ।
संघीय संसद, सदस्य डाक्टर बिमला राई पौडेललाई रक्त थैली (व्लड व्याग) हस्तान्तरण गरि रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भन्नुभयो, ‘रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन, रक्तदानको सँधैभरी महत्व छ, अहिले झन यसको कयौं गुणा महत्व छ ।’
सभामुख सापकोटाले दैनिक जस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै यस रक्तदान कार्यक्रमले रगत अभाव टार्न केही सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मी गरि ५३ जनाले रक्तदान गरेका थिए ।
संघीय संसद सचिवालयले संसद सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।
वि.सं.२०६३ सालदेखि हरेक बर्ष मंसिर २८ का दिन संघीय संसद सेवा दिवस मनाइदै आइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७, ०९:१९