अनु खनाल, रेडियो दर्पण, बर्दिबास । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले लैङ्गिक हिंसा अन्त्यका लागि घरमा दिईने सँस्कार छोरा र छोरीका लागि समान हुनुपर्ने बताउनुभएको छ ।
लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियानमा लागि पर्न आफैंले घरमा दिने संस्कारबाट सुरुवात गर्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
महोत्तरीको बर्दिवासमा बर्दिबास नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियान अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दहालले भन्नुभयो, ‘छोरीलाई यसो नगर, उसो नगर भन्ने आमाबुवाले छोरा कहाँ जाँदैछ, के गर्दैछ र के सिक्दैछ ? भन्ने कुरा पनि अब खोज्नुपर्छ ।’
उपाध्यक्ष दहालले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि गाउँ गाउँमा रहेका रेडियो तथा अन्य सञ्चारमाध्यमले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने भन्दै नयाँ कानुन बुझाउनेगरी विभिन्न कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य शारदादेवी थापाले हरेक महिलाले आफ्नो हक अधिकारका विषयमा थाहा पाउनुपर्ने भन्दै त्यसका लागि महिला स्वयम सचेत भई पहल थाल्न जरुरी रहेको औँल्याउनुभयो ।
थापाले लैङ्गीक हिंसा मात्र नभई कुनै पनि हिंसा स्वीकार नहुने भन्दै शान्त समाजका लागि हरेक व्यक्तिले आ आफ्नो ठाउँबाट भूमीका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ मा महिला हिंसाका घटनाको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा महिला प्रहरीको संख्या अत्यन्तै न्यून रहेकाले हिंसाका घटनामा काम प्रहरीलाई समस्या हुने गरेको सुनाउनुभयो ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीले नगरमा महिला हिंसा, बालविवाह र बाल श्रमका विरुद्धमा विभिन्न योजनाबद्ध कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो ।
उहाँले लैङ्गीक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न नगरले बजेट समेत विनियोजन गरेको भन्दै नगरका सम्पूर्ण नागरिकको सहयोग भएमा हिंसा अन्त्यका लागि प्रभावकारी काम गर्न सकिने आशा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७, ०९:२०