केशबराज क्षेत्री, रेडियो बिहानी, बागलुङ । बरेङ गाउँपालिका बागलुङले सञ्चालन गरेको ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ अन्तर्गत सुत्केरी आमाहरूले भाले उपहार पाएका छन् ।
पालिकाको ५ वटा वडाका ४६ सुत्केरी आमाहरूलाई पालिका उपाध्यक्ष दीलकुमारी पुनले कुखुराको भाले र बच्चाका लागि सरसफाइ सामग्री वितरण गर्नुभएको हो ।
वडा नम्बर ५ सुखौराका ६, वडा नम्बर ४ सल्यानका ४, वडा नम्बर ३ बाटाकाचौरका १६, वडा नम्बर २ हुग्दिशिरका १५ र वडा नम्बर १ धुल्लुबास्कोटका ५ जना सुत्केरी आमाहरूले भाले उपहार पाएका हुन् ।
५ वटा वडामा फरक समय र दिन गरी ३ दिनमा प्रत्येक वडाकै हेल्थपोष्टमा उपहार वितरण गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
पालिकाले दिएका मापदण्ड पुरा गर्दै स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराउने सुत्केरीलाई प्रोत्साहनस्वरुप भाले उपहार दिइएको उपाध्यक्ष पुनले बताउनुभयो । गर्भवती आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर पोसिलो झोला, उज्यालो बालबचत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आइएको उहाँको भनाइ छ ।
गाउँपालिकाभित्र जन्मिने बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्यसंस्थामा उनीहरूको पहुँच पुर्याउन पालिकाले आफ्नो नीति कार्यक्रममा यस्तो कार्यक्रमको समावेश गरेको उपाध्यक्ष पुनको भनाइ छ ।
पालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा वार्षिक योजना अन्तर्गत सोही कार्यक्रमका लागि १ लाख ३० हजार बजेट विनियोजन गरेको थियो ।
आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने र सुत्केरी जोखिमलाई न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । गत वर्ष सबै वडामा सत प्रतिशत सुत्केरी आमाहरू स्वास्थ्य संस्थामा नै पुगेको स्वास्थ्यकर्मी सरला पुनले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ सल्यानकी रञ्जिता शर्माले आफूहरुलाई यस्ता कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्दो रहेछ भन्ने ज्ञान हासिल गराउनुका साथै स्वास्थ्य संस्थामा जानका लागि प्रोत्साहन गरेकोे भन्दै खुसी व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७, १५:२४