सोलु एफएम, सोलुखुम्बु ।
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा झण्डै ९९ प्रतिशतले गिरावट आएको छ ।
कोरोना कहरका कारण सिजनमा पर्यटकिय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा ९८.७६ प्रतिशतले गिरावट आएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी (सहायक संरक्षण अधिकृत) पेम्बा शेर्पाका अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ को पहिलो चौमासिकमा ४ करोड ४४ लाख २३ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेको कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ५ लाख ५१ हजार १ सय ५६ रुपैयाँ २५ पैसा मात्रै संकलन गरेको छ ।
असोजदेखि मंसिरसम्म र चैत्रदेखि जेठ सम्मलाई खुम्बु क्षेत्रमा मुख्य पर्यटकिय सिजन मानिन्छ ।
यस सिजनमा सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट संकलन गरिएको शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कलाई निकुञ्जले मुख्य आम्दानीको रुपमा लिने गरेको छ ।
तर कोरोना संक्रमणका कारण गत बर्षको चैत्र ११ गतेबाट सुरु भएको लक डाउनले पर्यटकिय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा भारी मात्रामा गिरावट आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनुभयो ।
गत आर्थिक बर्षको पहिलो चौमासिकमा पर्यटक शुल्कबाट ४ करोड २८ लाख ९८ हजार ५ सय ५३ रुपैया तथा हेलिकप्टर अवतरण तथा बन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६ सय ११ रुपैया राजस्व संकलन भएको थियो ।
तर चालु आर्थिक बर्षको सोही अवधीमा पर्यटकबाट ५ लाख १६ हजार ३ सय ५० रुपैयाँ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३ सय ६ रुपैयाँ २५ पैसा संकलन भएको जनाइएको छ ।
निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शूल्क लिने गरेको छ भने सार्क मूलुकका नागरिकबाट एकहजार ५ सय र एक पटक हेलिकोप्टर अवतरण गरे बापत् तीन हजार अवतरण शुल्क लिने गरेको सूचना अधिकारी शेर्पाले बताउनुभयो ।
२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।
पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत रहेको छ ।
यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।
पर्यटक आवागमन तीन प्रतिशतमा खुम्चियो
चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ६ सय ८८ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।
कोरोना कहरकाबीच चालु आर्थिक बर्षको साउन, भदौ, असोज र कार्तिक महिनामा १ सय ३३ जना विदेशी र ५ सय ५५ जना स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
साउन र भदौमा शुन्य बनेको पर्यटन गतिविधि असोजमा १ सय ४६ स्वदेशी तथा २५ जना विदेशीले भ्रमण गरेका थिए भने कार्तिकमा ४ सय ९ जना स्वदेशी तथा १ सय ८ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए ।
तर गत आर्थिक बर्षको पहिलो चौमासिकमा १७ हजार ५ सय ६६ विदेशी र ४ सय ८८ स्वदेशी गरि १८ हजार ५४ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको छ ।
यसरी हेर्दा गत आर्थिक बर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक बर्षमा पर्यटक आगमन तीन प्रतिशमा खुम्चिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७, १६:२६