काठमाडौँ । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिए पनि अन्तिम समयमा बैठक बालुवाटारमै बस्ने टुङ्गो लागेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण बैठक बालुवाटारमा राखिएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
गत सातादेखि सुरु भएको बैठकमा आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । यही मंसिर २१ मा धुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली पत्र पठाएर अनुपस्थित हुनुभएको थियो ।
त्यसयता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफल गरिने नेताहरूले बताए पनि यो एक सातामा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच कुनै सहमति भएन यद्यपी एक्लाएक्लै पनि उहाँहरूबीच भेटवार्ता भएको थियो ।
नेकपाका नेता शङ्कर पोखरेलले हिजो प्रचण्डसँग भेटेर अध्यक्ष ओलीको सन्देश पुर्याउनुभएको थियो । आज बिहान संसदीय दलका उपनेता नेम्वाङले पनि अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छ ।
नेकपाको स्थायी कमिटीमा अध्यक्ष केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्र प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यलाई ती पत्र पढेर आउन भनिएकाले आजदेखि नेताहरूले बैठकमा बोल्ने क्रम सुरु हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७, १०:४२