काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै प्रर्वद्धन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।
‘कोभिड १९ बाट प्रभावित हस्तकला उद्योगको संरक्षणका लागि सरकारको पहलमा बैंकको ब्याजदर घटाउने, सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था, कच्चा पदार्थमा भन्सार छुटजस्ता व्यवस्था हुन सके व्यवसायीलाई सहज हुनेछ।’, उहाँले भन्नुभयो, ‘महामारीले प्रभावित भएको हस्तकला व्यवसायलाई फेरि पहिलेकै अवस्थामा फर्काउन मैले सक्दो समन्वय र पहल गर्नेछु ।’
नेपाली हस्तकला क्षेत्रले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात गरिरहेको र ११ लाख युवाहरुलाई रोजगारी दिइरहेको भन्दै उपाध्यक्ष दहालले नेपालमा उत्पादित हस्तकला सामग्रीको विश्व बजारमा आकर्षण र माग धेरै भएको बताउनुभयो ।
विश्व बजारमा आकर्षण र माग भए पनि कोरोना महामारीले हस्तकलाको व्यापार व्यवसाय ठप्प भएकाले नेपाली हस्तकला क्षेत्रले करोडौंको घाटा व्यहोर्नु परेको उहाँको भनाइ छ ।
हस्तकला उद्योगका दक्ष कालिगढहरुलाई पर्याप्त सेवा सुविधा र अवसर दिन नसक्दा विदेश पलायन हुने समस्या रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले नेपाली हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
कोरोना महामारीपछि विदेशबाट फर्किएका हजारौं बेरोजगार युवाहरुलाई हस्तकलासम्बन्धी सीप सिकाउन राज्यस्तरबाटै विभिन्न तालिम र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिंदै उहाँले स्वदेशी उत्पादनको वृद्धि हुनुका साथै नेपालको पुख्र्यौली सीप पनि हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय तहसँग समन्वय गरेर देशैभरि हस्तकला महासंघको सञ्जाल विस्तार गर्न र हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्न दहालले आयोजकलाई आग्रह गर्नुभयो ।
आफ्नो ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघले गत मंसिर २८ गतेदेखि ३० गतेसम्म थापाथलीमा हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७