मानु हिस्की, रेडियो मदनपोखरा, पाल्पा
नेपालका सात सय ५३ स्थानीय तहमध्ये पाल्पाको तानसेन नगरपालिकाले पहिलो पटक कार्यसम्पादन सम्झौता गरेको छ ।
मंसिर १७ गते नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।
आर्थिक वर्ष २०७७/०७८ को शुरु अर्थात् श्रावण महिनामै कार्यसम्पादन सम्झौता गर्ने योजना भए पनि कोरोना महामारीका कारण काम गर्न नपाउँदा ढिलाई भएको हो ।
नेपाल सरकारका पूर्व मूख्यसचिव डाक्टर सोमलाल सुवेदी नेतृत्वको टोलीले तानसेनमा आएर अध्ययन अनुसन्धान गरेपछि कार्य सम्पादन सम्झौताको खाका तयार गरिएको थियो ।
कार्यसम्पादन सम्झौताले कर्मचारीको कामको मापन तथा मूल्याङ्कन गर्न, काम प्रभावकारी बनाउन, जवाफदेहिता र मितव्ययिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमूख अशोक कुमार शाही बताउनुहुन्छ ।
शाहीले भन्नुभयो, ‘हाम्रो खर्चमा मितव्ययीता हुन्छ, काममा प्रभावकारिता हुन्छ, जुन स्रोतहरू खर्च गरेका छौं, त्यसको उपादेयता हुन्छ । सँगसँगै काम गर्ने कर्मचारीलाई पनि मेरो जिम्मेवारी यो हो, यो जिम्मेवारी पूरा गरेन भनेचाहिँ मैले जवाफ दिनुपर्छ भन्ने उहाँहरूलाई थाहा हुन्छ ।’
प्राय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच तालमेलको अभाव देखिन्छ भने कर्मचारीको छिटो छिटो सरुवा हुने समस्याले कतिपय कामहरु प्रभावित भइरहेका छन् ।
तर नगरप्रमूख शाही भने कार्यसम्पादन सम्झौता निरन्तर रुपमा लागू भइरहने दाबी गर्नुहुन्छ ।
नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे भने कुनै पनि कर्मचारीलाई निश्चित अवधीसम्म एकै ठाउँमा काम गर्न दिनुपर्ने बताउनुहुन्छ ।
कर्मचारीहरू सरुवा भइरहँदा कार्यक्रमहरु कार्यान्वयनमा समस्या आउने उहाँको भनाइ छ ।
नगरपालिकाको सबै शाखाका प्रमूखहरुबाट आफूले एक वर्षमा गर्ने कामको प्रतिबद्धता मागेर कार्यपालिकाबाट स्वीकृत गराइएका कामहरू कार्य सम्पादन सम्झौतामा राखिएको छ ।
भर्खरै अभ्यास थालिएको सम्झौताले आफ्नो जिम्मेवारी बहन गर्न ठूलो मद्दत पुग्ने कर्मचारीहरुको बुझाइ छ ।
सामाजिक विकास तथा प्रशासन शाखा प्रमूख भरत प्रसाद आचार्य कार्यसम्पादन सम्झौताले काममा प्रभावकारिता ल्याउने बताउनुहन्छ ।
कार्यसम्पादन सम्झौताभित्र प्रत्येक शाखाले गर्ने कामको विवरण, आवश्यक पर्ने श्रोत, नीतिगत विषय, लक्ष्य तथा उद्देश्य, सूचकसहितको कृयाकलाप, जोखिमका पक्षहरू, कामको मापन गर्ने आधार, अङ्कभार आदि समेटिएका छन् ।
हरेक कर्मचारीले काम गरिसकेपछि ति कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न माथिल्लो ओहोदाको कर्मचारीले नम्बर दिने व्यवस्था गरिएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७, १८:२९