काठमाडौँ । आज साँझका लागि बोलाइएको संवैधानिक परिषद् बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुने भएको छ ।
परिषद् बैठकका लागि सहमतिको वातावरण नबनेको भन्दै सभापति देउवा बैठकमा नजाने उहाँको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद् बैठक आज साँझ ५ बजेका लागि बोलाउनुभएको छ ।
ओलीले हिजो नेकपाको स्थायी कमिटि बैठकमा अध्यादेश फिर्ता लिने सहमति जनाएपछि अध्यादेश फिर्ताको निर्णय भएको थियो । अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआउँदै प्रधानमन्त्री ओलीले साँझका लागि संवैधानिक परिषद् बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७, १५:००