बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै ठाउँमा भागबण्डा खोजेकाले सहमतिमा जान नसकेको बताउनु भएको छ । उहाँले सबै ठाउँमा मोलतोल गर्न खोजेको आरोप पनि लगाउनुभयो । निर्वाचन आयोगका प्रमुख आयुक्तको नियुक्तिमा भागबण्डा खोजेर कांग्रेस नआएको र सधै पर्खिन नसकिने बताउनुभयो ।
संवैधानिक परिषद्को हालैको बैठकले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्ति गर्ने निर्णय गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा सहभागि हुनु भएको थिएन । त्यसमा कांग्रेसले एकलौटी गर्न खोजेको भन्दै सार्वजनिक रूपमै विरोध गरिरहेको छ ।
गृहनगर झापा जाने क्रममा आइतवार दिउँसो विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्तको नियुक्तिबारे कांग्रेस सभापति देउवासँग पर्याप्त छलफल गरेको दाबी पनि गर्नुभयो । परामर्श गरेर बैठक डाकिएको हो तर अन्त्यमा नआएपछि के गर्ने ? उहाँले भन्नुभयो ।
कांग्रेसले भागबण्डा खोजेको र त्यो नपाएकोमा संवैधानिक परिषद्को बैठकमा पार्टीको संसदीय दलको बैठकको बहाना बनाएर देउवा अनुपस्थित रहेको ओलीको आरोप थियो।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५, १५:४५