काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका शीर्ष नेताहरुसँग सामूहिक तथा एक्लाएक्लै भेटघाट र छलफल गर्नुभएको छ ।
पत्र हुँदै सार्वजनिक रुपमै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आरोपप्रत्यारोप चलेको बेला प्रधानमन्त्री ओलीले भेटघाट तीव्र पार्नुभएको हो । ओली अध्यक्ष प्रचण्डलाई भेट्न बिहान खुमलटारमा पुग्नुभएको थियो ।
दुई अध्यक्षबीच करिब २० मिनेट पार्टीभित्रको विवाद र समाधानका विकल्पका बारेमा एक्लाएक्लै छलफल भएको थियो ।
केकस्ता विषयमा दुवै अध्यक्षबीच कुराकानी भयो भन्ने प्रश्नमा बालुवाटार र खुमलटार स्रोतहरुले खुलेर नबताए पनि पार्टीभित्रै र बाहिर नयाँ सन्देश दिने ओलीको कुटनीतिका रुपमा नेताहरुले विश्लेषण गरेका छन् । यद्यपी प्रचण्ड निवासमा प्रधानमन्त्री ओलीको आकस्मिक यात्रा भने थिएन ।
खुमलटारमा छलफल गर्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। हिजो छलफलका लागि बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्डसमक्ष ओलीले "भोलि तपाईँकै निवासमा आउँछु।" भन्नुभएको थियो । त्यसैअनुसार बिहानको भेट दुई नेताबीच खुमलटारमा भएको थियो ।
अध्यक्षद्वय प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुग्नुभएको थियो। तीन नेताबीच करिब ४५ मिनेट सामूहिक छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
उपाध्यक्ष गौतमले सचिवालय र सचिवालयमा भएका नेताहरु सम्मिलित बैठक बाहेक कुनै पनि गुटका बैठकमा नजाने बताएको भोलिपल्ट त्रिपक्षीय छलफल भएका कारण पनि आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तीन नेताबीचको बैठक सकिए लगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु खुमलटार पुग्नुभएको थियो ।
खुमलटारमा प्रचण्ड-नेपाल पक्षको भेटघाट चलिरहँदा प्रधानमन्त्री ओली र सचिवालय सदस्य तथा गृहमन्त्रीसमेत रहनुभएका रामबहादुर थापासँग पुल्चोकस्थित मन्त्रि निवासमा कुराकानी भइरहेको थियो ।
मन्त्री निवास पुल्चोकमा सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री रामबहादुर थापासँग भेट गर्दै प्रधानमन्त्री ओली। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री खुमलटारबाट फर्कँदा बाटैमा परेका कारण मन्त्री थापासँग भेटेर सामसामयिक विषयमा छलफल भएको बताउनुभयो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर पार्टीमा अध्यादेश फिर्ता ल्याउने सहमति गरेर फेरि परिषद्को बैठक डाकेपछि प्रधानमन्त्री ओलीसँग प्रचण्ड-नेपाल समूह झस्किएको छ ।
पेरिसडाँडामा आफू पक्षको भेला गरेर अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्डले चेतावनी दिएको भोलिपल्ट प्रधानमन्त्रीको दौडधुप भएको हो ।
प्रचण्डले आफूलाई पत्रमार्फत बिभिन्न लाञ्छना लगाएको र उक्त पत्र फिर्ता नहुँदासम्म बैठकमा नजाने बताउनुभएका ओली प्रचण्डको निवासमै पुगेर सम्वाद गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने एकथरी नेताकार्यकर्ताबाट टिप्पणी भइरहँदा विशेष गरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने नयाँ कार्ड फ्याँकेर पार्टीको विवाद तत्कालका लागि मत्थर पार्ने रणनीतिक रुपमा बुझेको एक नेताले बताए ।
वरिष्ठ नेता नेपाल निकट नेता भीम रावलले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डबीच भएको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्चाल ट्विटमा नेता रावलले लेख्नुभएको छ," बिहान प्रमं केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ । वामदेवजीको उपस्थितमा मिलौँ भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।"
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७, १४:३९