काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताउनुभएको छ ।
विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको टिप्पणी गर्नुभयो ।
उहाँले विचार, सङ्गठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको आरोप लगाउनुभयो ।
जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसङ्ग उहाँले सुनाउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि उहाँको भनाइ छ ।
उहाँले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताउनुभयो ।
‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेलल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७, १५:३३