बारा । असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । बाराका विभिन्न ठाउँमा हावाहुरीसँगै आएको असिना पानीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ । गएराति आएको हावाहुरी र असिना पानीका कारण झन्डै ५ सय जना घाइते भएको बाराका प्रहरी प्रमुख डीएसपी हेम बहादुर शाहीले बताउनुभयो ।
घाइते मध्ये केहि उपचार पश्चात घर फर्केका छन् भने अन्यको वीरगञ्जको गण्डक, नारायणी अस्पताल, बारा जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जनशक्ति अभाव र उपकरण अभावका कारण घाइतेको उपचारमा समस्या भइरहेको बारा जिल्ला अस्पताल स्रोतले जनाएको छ ।
घटनास्थलमा उद्दार कार्य जारी रहेको र मृतकको संख्या अझ बढ्न सक्ने डीएसपी शाहीले सीआईएनसँग बताउनुभयो । उहाँले भन्नुभयो, ‘रातिको समय भएकोले उद्दार कार्यमा समस्या भएको थियो । तर, अब उज्यालो भइसकेको अवस्थामा उद्दार कार्य सहज हुने छ ।’
बाराको फेटा गाउँपालिका, पस्रौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, कलैया उपमहानगरपालिकाको पुरैनिया, मोतिसर, भलुही लगायतका स्थानमा क्षति पुर्याएको छ ।
मृत्यु हुनेमा साँझको समय शौच गर्न गएका, बजारबाट घर फर्कदै गरेका र इटा भट्ठामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५, ०५:२९