काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी विस्तार गरी १ हजार ३ सदस्सीय बनाउनुभएको छ ।
आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएर वर्तमान ४ सय ४६ जना केन्द्रीय कमिटीमा ५ सय ५७ जना थप गरी एक हजार तीन सदस्यीय केन्द्रीय कमिटी विस्तार भएको उहाँले घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रीय कमिटीको विस्तार हिजो गरिएको र उनीहरुलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज सपथ गराउनुभएको सीआईएनसँग बताउनुभयो ।
बालुवाटारमा बसेको बैठकले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीलाई तोक्ने निर्णय गरेको छ । पार्टी निर्णय र मान्यता विपरीत प्रवक्ता नारायणकाजी श्रेष्ठ हिडेको भन्दै ज्ञवालीलाई प्रवक्ताको जिम्मेबारी तोकिएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
श्रेष्ठ बाहेक अरु कुनै पनि नेतालाई कारबाही नगर्ने निर्णय भएको बालुवाटरको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकले आगामी मंसिर २ गते महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भोलि देशव्यापाी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । सातवटै प्रदेशमा हुने भेलाका लागि वक्ताहरु पनि तोकिएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीकाे बैठक पनि अहिले बबरमहलमा बसिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७, १३:२५