काठमाडौं । राजनीतिक रूपमा पार्टी विभाजनपछि नेकपाका दुवै समूह अबको रणनीति निर्माणमा जुटेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी ओली समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट आगामी कार्यक्रमको रूपरेखा बनाउने तयारी गरेका छन् ।
तर उनीहरूको वैधानिकताको विषय भने निर्वाचन आयोगमा प्रवेश गरेको छ ।
नेताहरु तान्ने होडवाजी पनि चलेको छ । गृहमन्त्री रामबहादुर थापा बादल केपी शर्मा ओली नेकपाकै पक्षमा लाग्नु भएको छ । प्रधानमन्त्री ओलीसँग हिजो भएको लामो छलफलपछि थापाले ओली समर्थन गर्ने सहमथित जनाउनु भएको हो ।
थापा आज बस्ने ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र उहाँलाई ओलीपछिको दोस्रो वरीयताको नेता बनाउने समझदारी जुटेको छ ।
थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ।
उपाध्यक्ष वामदेव गौतम भने खुल्नुभएको छैन । कम्तिमा निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता टुंगो नलागेसम्म कतै नखुल्ने र त्यसवेलासम्म पार्टी एकताकै लागि भूमिका खेल्ने अडानमा देखिनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७, ०८:१९