बाटो पनि हो जीवन, नदी पनि हो।
मनसँग बग्दै हिड्ने, गति पनि हो।
धून बनेर पोखिन्छ,जो मुटुबाट,
त्यो आँसु पनि हो, त्यो मसी पनि हो।
नाङ्गा पैतालामा देश खोजिरहने,
मालिक पनि हो त्यो र हली पनि हो।
जीवन धेरै मूल्यवान छ, मान्यो भने,
नमाने माटो धूलोजति पनि हो।
बाँच्ने क्रममा मान्छेले सम्झौता गर्नु,
यो त अघि पनि हो, पछि पनि हो।
आँखाले बोल्ने हृदयको सूचना,
उद्घोषणा हो यो र घडी पनि हो।
तर्कमाथी अडिने सत्यको भाँडो,
आधा पनि हो त्यो र भरी पनि हो।
प्रेम र युद्धमा जे पनि जायज भन्नू,
गलत पनि हो त्यो र सही पनि हो।
प्रेमले बोल्यो भने, केवल एकै वचन,
उर्जा पनि हो र औषधि पनि हो।
@ खगेन्द्र गिरि "कोपिला" -आदर्श मार्ग वार्ड नं १ (नेपालगञ्ज)
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७, १०:०७