काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्धमा काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको माइतीघर मण्डलमा बिहान करिब एक घण्टा शीर्ष नेताहरुले सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् ।
पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी र केन्द्रीय कमिटी सदस्य, राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका सदस्य तथा विभिन्न जनवर्गीय सङ्गठनका नेता प्रदर्शनमा सहभागी थिए ।
प्रदर्शनमा सहभागीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी नेता तथा वर्तमान र पूर्वसांसदले प्रतिनिधिसभा भङ्ग नभएको सङ्केत दिन ‘हामी यही छौँ’ भन्ने पम्पलेट बोकेका थिए ।
नेकपाको आधिकारिकता आफूहरुसँगै रहेको जनाउ दिन नेताकार्यकर्ता माइतीघरबाट नाराजुलूस गर्दै भद्रकाली, रत्नपार्क हुँदै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका थिए ।
आयोग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले रोकेको थियो । त्यसपछि नेकपाको प्रचण्ड-नेपाल समूहका केही शीर्ष नेता मात्र आयोगमा पुगेर आफ्नो समूहका नेताहरुको नाम पेश गरेका थिए ।
आयोगमा पुग्नुभएका नेकपाका अध्यक्ष प्रचण्डले नेकपा पार्टीको वैधानिकता विवाद तत्काल सल्टाउन आयोगसँग अनुरोध गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने जानकारी गराउनुभयो ।
थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतको नजीरहरुका आधारमा वैधानिकताबारे निर्णय हुने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७, १३:५३