काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख कुओ येचौ नेतृत्वको टोलीले उच्चस्तरीय भेटवार्ता जारी राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजै भेट गरेको टोलीले आज नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा प्रचण्ड-नेपाल समूहका अर्का उपाध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गरेको हो ।
टोलीको भेटवार्ता अझैँ पनि जारी रहेको छ । नेता नेपालसँगको भेटमा टोलीले नेकपाको पछिल्लो विवादका बारेमा जिज्ञासा राखेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
टोलीले नेकपाको विदेश विभाग प्रमुखसमेत रहनुभएका अध्यक्ष नेपाललाई आज करिब सवा एक घण्टा बानेश्वरस्थित एभरेष्ट होटलमा कुओले भेटवार्ता गर्नुभएको थियो ।
यसअघि कुओले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा करिब दुई घण्टा भेटेको थियो । नेकपा राजनीतिक रुपमा विभाजित भएपछि मिलाउन सक्ने अन्तिम प्रयासमा कुओ नेतृत्वको टोली हिजो नेपाल आएको थियो।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७, १५:४४