अछाम । हरेक देशको आआफ्नै पहिचान झल्काउने पोशाक हुन्छ । नेपाली र नेपालको झल्को दिनका लागि ढाका टोपी पनि महत्वपूणर् मानिन्छ । यद्यपी यसबारेमा बिभिन्न असहमितहरू पनि सुनिन्छ । ढाका टोपी, कालोटोपी, भाद्गाउँले टोपीको प्रयोग भने घट्दै गएको छ ।
नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कास्मिर, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । यो टोपीलाई न त मौसम अनुसार लगाइन्छ न त कुनै अवसर विशेष पारेर लगाइन्छ ।
भारी बोक्ने बेला होस् वा कुनै औपचारिक कार्यक्रममा यो टोपी नेपालीको शिरमा सजिएको पाइन्छ । तर पछिल्लो समय नेपाली टोपीसँगै नेपाली पोशाक नै लोप हुन थालेपछि अभियन्ताहरु चिन्तित छन् ।
नेपाली नागरिकको शिरमा लगाइने ढाँका टोपीले नेपालीहरुको इज्जत र मानको प्रतिनिधित्व गर्दछ । नेपाली पुर्खाको पहिचान भनेर ढाका टोपीलाई चिनिने भए पनि पछिल्लो पुस्ताका नागरिकको शिरमा नेपाली ढाका टोपी बिरलै मात्रामा देखिन थालेको छ ।
नेपाली टोपीले शिर मात्रै नढाकेर समग्र नेपालीको प्रतिष्ठा उच्च बनाउँदै आएको ढाका टोपी संरक्षण अभियानका एक जना अभियन्ता ध्वजबहादुर कुँवर बताउनुहुन्छ ।
टोपी दिवसमा महिला र पुरुषलाई चिनाउन खोजिएको नभइ नेपालीको सानलाई टोपीमार्फत चिनाउन खोजिएकाले जसले लगाए पनि फरक नपर्ने अभियन्ताहरूले तर्क राख्दै आएका छन् ।
नेपाली ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भीरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने जागरुक युवा अभियान नेपालका सदस्य तथा ढाकाटोपी संरक्षण अभियन्ता एक जना पत्रकार ज्ञानमणि नेपालको भनाइ छ ।
ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरूको प्रयोग नै पछिल्लो समयमा घट्दै गएको छ । साहित्यकार देवेन्द्रप्रसाद भट्ट दीप्त पनि टोपी संरक्षणका लागि पछिल्लो पुस्तामा जानकारी गराउनुपर्ने सुझाव दिनुहुन्छ ।
नेपालमा ढाकाटोपी वा भादगाउँले टोपी सबैभन्दा पहिले कसले लगायो भन्ने बारेमा फरकफरक तथ्यहरू भेटिने गरे पनि जङ्गबहादुर राणाका पालामा उहाँकी बहिनी डम्बर कुमारी राणाले आफ्ना दाजुलाई खुशी पार्नका लागि नेपाली टोपी बनाएर उपहार दिएको जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७