सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा हिजो भएको कार्यक्रममा जिल्ला समन्वय समिति माहासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङलगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तामाङले वातावरण प्रतिकुल हुनेखालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताउनुभयो ।
उहाँले ३ वर्ष अगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको समेत उपस्थितिमा जारी गरिएको घोषणपत्र कार्यान्वयनको लेखाजोखा नभएको भन्दै घोषणापत्र कार्यान्वयन नगर्ने भए वर्षबिच्छे दिवस मनाइरहनुको कुनै औचित्य नरहेको धारणा राख्नुभयो ।
तामाङले मानवीय क्रियापलापकै कारण प्राकृतिक विपत्ति आएको भन्दै अव सचेत हुनुपर्ने बेला आएको उल्लेख गर्दै नेपाली समाज एक ढिक्का भएर अन्र्तराष्ट्रिय समुदायलाई खबरदारी गर्न सक्नपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गुफालाई पर्यटकीयस्थल बनाउन जिल्ला समन्वय समितिले काम गरिरहेको बताउनुभयो ।
गुफा डाँडालाई पर्यटकीयस्थल बनाएर गुफाबासीले आम्दानीको स्रोत बढाउन सक्ने भएकाले समन्वयको कार्यक्रममा हातेमालो गर्न गुफा बासिहरुलाई आग्रह गर्नुभयो ।
गुफाडाँडामा जलवायु सम्मेलन भइरहँदा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समुदायको ध्यान आर्कषण भएकाले अब गुफाको पर्यटन विकासका लागि एकजुट भएर अगाडि बढ्नपर्ने अवस्था आएको बताउनुभयो ।
२०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस वर्ष दोस्रो जलवायु दिवस तथा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७, १०:०७