काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले विद्यमान व्यवधान र अडचनबाट मुक्त हुन नयाँ जनादेशमा जाने निर्णय भएको दावी गर्नुभएको छ ।
नेकपा काठमाडौंद्वारा आज प्रज्ञा भवन कमलादीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताउनुभएको हो ।
पार्टीभित्रबाटै समस्या खडा गरिँदा सरकारले चाहेकोजस्तो काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । तर अब दुईटा नटबोल्ट खुलिसकेकाले विकासको कामले गति लिने विश्वास दिलाउनुभयो ।
“तीन वर्षसम्म पार्टी कार्यकर्तालाई अलमल र असंगठितमा राख्ने काम भयो, पार्टी एकता त घोषणा गयौं तर एकता प्रक्रिया टुङ्गोमा पु-याउन दिइएन, तीन वर्ष खेर गयो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या कहाँ रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ, दुईटा नटबोल्ट फेरिदा कामले गति लिएको छ ।”
सन् २०२१ ले नेपाली राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रतालाई अझ मजबुत बनाउने चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस वर्षले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थकतातिर गैसकेको हुनेछ, एउटा उल्लेख्य टर्निङ प्वाइन्टको रुपमा हामी यो वर्षभित्र पुगिसकेका हुनेछौं ।” हामी आफ्ना छोरा बुहारी, भाइ भतिजाका लागि लडिरहेका छैनौं, देश र जनताका लागि लडिरहेको उहाँले प्रष्ट पार्नुभयो ।
पार्टीबाट आजको मितिसम्म कुनै नेतालाई निष्काशन नगरिएको प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले प्रचण्ड–माधव पक्षलाई गल्ती स्वीकार गरेर मुल पार्टीमा समाहित हुन आव्हान गर्नुभयो ।
सो पक्षको हालत अब रत्नपार्क वरिपरि सीसीमा तेल बेच्नेको हालत हुने चेतावनी दिनुभयो । "त्यति मानिस त तेल बेच्नले पनि जम्मा गर्नसक्छ ।" उहाँले भन्नुभयो । प्रचण्ड–माधवपक्षको एजेण्डा देश, जनता र लोकतन्त्र नभएको बताउनुभयो ।
विकास निर्माणको काम तीव्रगतिले अघि बढेकाले परिणाम आउनेक्रम जारी रहेको बताउनुभयो । अब झन गतिका साथ विना अड्चन सरकार र पार्टीले काम गर्ने उहाँले चर्चा गर्नुभयो ।
फुसको छाना हटाएर जस्ताको छाना लगाउने काम भएको, सडक चौडा र कालोपत्रेले गति लिएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अस्तव्यस्त सिर्जना गर्ने, मुख छाडेर गाली गर्ने प्रबृत्ति उहाँहरुमा देखियो, मलाई नाङ्गो गोरु देखेर लाज लौग्दैन ।” उहाँहरुले जति बाधा अडचन गरे पनि विकासको काम अब नरोकिने प्रष्ट पार्नुभयो ।
प्रचण्ड–माधव पक्षले आधिकारिक पार्टी आफू भएको दावी गरे पनि त्यो कल्पना मात्र भएको अध्यक्ष ओलीले बताउनुभयो । संस्थापन पक्ष नै आधिकारिक पार्टी र चुनाव चिन्ह ‘सूर्य’ रहने उहाँले प्रष्ट पार्नुभयो । कार्यकर्ता पङितलाई भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।
अदालतले सही र गलत राम्रोसँग चिन्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले थप्नुभयो, “हाम्रो अदालत सही गलत चिन्न सक्षम छ, निर्वाचन आयोगले पनि असली नक्कली चिन्छ ।”
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७, १९:०१