काठमाडौँ । राष्ट्रियसभाको हिउँदे अधिवेशनमा भाग लिँदै सांसदहरूले प्रतिनिधिसभा विघटन भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओली शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभाको बैठक हिजोबाट सुरु भएको हो ।
बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार तथा जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनुभएको थियो ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए । दलका नेताहरुले बैठकमा प्रतिनिधिसभा बिघटन भएकोमा दुःख व्यक्त गरेका छन् ।
६ महिनापछि सुरु भएको राष्ट्रियसभाको वैठकमा सांसदहरुले प्रतिनिधीसभा विघटनको विषय उठाउँदै वर्तमान सरकारको ओलचना गरेका छन् ।
बैठकको सुरुमा झण्डै ४० मिनेट बोल्नुभएका नेकपा राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी विभाजनको संघारमा पुग्दा आफ्नो मुटु चिरिएको टिप्पणी गर्नुभयो ।
अझै पार्टी एकताबद्ध राख्न सकिने भएमा पहल गर्ने र थप पहलकदमी चाल्नका लागि नेकपाका उपाध्यक्षसमेत रहनुभएका सांसद बामदेव गौतमलाई उहाँले आग्रह गर्नुभयो ।
शर्मा पछि बोल्नुभएका काँग्रेस सांसद जितेन्द्र देवले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्याएको आरोप लगाउनुभयो ।
अहिलेको संविधान बनाउने व्यक्तिमध्ये आफू पनि एक भएको भन्दै उहाँले संविधानमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन भन्नुभयो ।
५९ सांसदमध्ये परशुराम मेघी गुरुङ र राधेश्याम अधिकारी कोरोना सङ्क्रमण भएका कारण बैठकमा उपस्थित हुनु भएन । बैठकमा बोल्दै जनता समाजबादी पार्टीका सांसद प्रमिला कुमारीले पनि प्रतिनिधिसभा विघटनको निणर्य गलत भएको टिप्पणी गर्नुभयो ।
गृहमन्त्री राम बहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बैठकमा विभिन्न अध्यादेश पेश गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने छ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७, २१:५४