सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडासहितका क्षेत्रमा आज हिमपात भएको स्थानीयबासीले बताएका छन् ।
खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाम्चे बजार केही समय अघिबाट हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङ लगायतका क्षेत्रमा गएराति देखि नै हिमपात भइरहेको छ ।
खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्ला लगायतका स्थानबाट देखिने डाँडाहरु सेताम्मे बनेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो ।
हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।
अघिल्लो वर्ष मंसिरको दोस्रो साताबाट हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्रो सातामा मात्रै हिउँ परेको हो । जिल्लाको तल्लो क्षेत्र पिकेडाँडा, पत्ताले, ओखलढुंगाको जन्तरधाम लगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।
यसैबीच खुम्बुसहित जिल्लाको तल्लो क्षेत्रमा पनि तापक्रम बढेको स्थानीयले बताएका छन् । हिजोबाट हावा चल्न थालेसँगै विगतको भन्दा निक्कै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउनुभयो ।
बिहानको समय माईनस ३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने लुक्लामा आज बिहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिक उड्ययान कार्यालय लुक्लाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७, १६:१७