काठमाडौँ । नेकपाको ओली र प्रचण्ड-नेपाल समूहले आफूलाई आधिकारिक तथा बहुमत समर्थन रहेको दावी गर्न बिभिन्न रणनीति अघि सारेको छ ।
यसका लागि दुवै समूहले एकअर्का विरुद्धका भण्डाफोर अभियान चलाएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेशस्तरमा केन्द्रित बिभिन्न भेला तथा छलफल गरिरहेको छ ।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीका विरूद्ध एक महिने आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलन अन्तर्गत यो समूहले आज ७७ जिल्लाबाट प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
ज्ञापनपत्रसँगै संविधानको पुस्तक पनि उपहार पठाउने कार्यक्रम रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर गलत गरेको भन्दै गल्ति सच्याएर क्षमा माग्नका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गर्ने कार्यक्रम पनि आज छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत भएर चुनावको मिति घोषणा भएपछि नेकपा विभाजनको नजिक पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७, ०९:३७