काठमाडौँ । आलु खेती गरेका किसान अहिले त्यसको स्याहारमा लागेका छन् । चिसोमा डढुवा र दाद जस्ता रोगका कारण आलु जोगाउन नसकेर उत्पादन घट्लाकि भन्ने चिन्ता किसानलाई छ । एउटै बोटको जरामा लटरम्म फलाउने गरी आलुलाई जोगाउन बेलैमा सचेत हुनुपर्ने विज्ञहरूको सुझाव छ ।
काभ्रेको पाँचखाल नगरपालिका, २ का करुणा तामाङले ५ रोपनी खेतमा आलु लगाउनुभएको छ । गतवर्ष आलुबाट दुई लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । यसवर्ष आम्दानी अझै बढोस् भन्ने उहाँको चाहना छ ।
तर चिसो बढेसँगै आलुमा डढुवा रोगले क्षति पुर्याउँछ कि भन्ने डर पनि छ । ‘अहिले आलु गोडिरहेका छौँ । समस्या देखिइहालेको त छैन, तर ४ वर्षअघि हिउँ परेको जस्तै गरी तुसारो परेको थियो । पात पुरै डढेको र डाँठसमेत पूरै कालो भएर पाँचखाल फाँट नै सखाप भएको थियो ।’ तामाङले भन्नुभयो ।
चिसो बढीरहेको हुँदा डढुवाले क्षति पुर्याउन नपाओस् भनेर प्राविधिकहरूको सुझाव अनुसार विषादी छर्ने गरेको पनि उहाँले सुनाउनुभयो । यस वर्ष ५ रोपनीबाट एकसय बोरा आलु फल्छ कि भन्ने उहाँको अपेक्षा छ ।
पुस माघको समयमा विहान हुस्सु लाग्छ । बाक्लो तुसारो पर्छ र लामो समयसम्म मौसम बदली भइरहन्छ । चिसो मौसममा आलुलाई डढुवा रोगबाट बचाउन मानकोजेवयुक्त ढुसीनाशक विषादी साढे २ ग्राम प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा छर्नु पर्ने राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटार ललितपुरका पूर्वप्रमुख श्यामप्रसाद ढकालले बताउनुभयो ।
‘आलुमा डढुवा लाग्न नदिनका लागि प्रोटेक्टिभ फङ्गीसाइट (ढुसीनाशक विषादी) त्यसमा पनि मानकोजेवयुक्त ढुसीनाशक विषादी प्रयोग गर्न सक्नुहुन्छ । यदि आलुबालीमा डढुवाको सङ्क्रमण देखियो भने सिस्टमिक फङ्गीसाइट (ढुसीनाशक विषादी) त्यसमा पनि मेटालेक्सिलयुक्त ढुसीनाशक विषादी आवश्यकता अनुसार प्रविधिकको सल्लाहमा छर्नुपर्छ ।’ ढकालले भन्नुभयो ।
१० वटा जोन र २ वटा सुपर जोनबाट मात्रै अघिल्लो वर्ष १२ हजार एक सय ५३ हेक्टरमा आलु रापिएकोमा २ लाख ६८ हजार २ सय ५१ मेट्रिक टन आलु उत्पादन भएकोमा उत्पादकत्व पनि २२ दशमलव ०७ मेट्रिक टन प्रतिहेक्टर रहेको परियोजनाले जनाएको छ ।
रोगबाट बचाउनका लागि गुणस्तरीय आलुको बीउ छानेर लगाउनुपर्ने उहाँको सुझाव छ । आलुमा दाद पनि बीउकै कारणले लाग्ने भएकोले किसानहरूले बीउ छान्दा ध्यान दिनुपर्छ ।
रोगकिराको कारण आलुको उत्पादनमा १५ देखि २० प्रतिशतसम्म कमि आउने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र कीर्तिपुर काठमाडौँका प्रमुख बासुदेव काफ्लेले बताउनुभयो ।
‘आर्थिक वर्ष २०७६/०७७ को आलु उत्पादन सम्बन्धी तथ्याङ्क सङ्कलनको काम भैरहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक लाख ९३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो ।’ काफ्लेले भन्नुभयो, ‘त्यसवर्ष नेपालमा ३१ लाख १२ हजार ९ सय ४७ मेट्रिक टन उत्पादन भएको थियो । अहिले देशरको आलुको मागको झण्डै ९५ प्रतिशत हिस्सा देशभित्रै उत्पादित आलुले ओगटेको छ । गत वर्ष २ लाख ७४ हजार मेट्रिक टन आयात भएको र एक सय १३ मेट्रिक टन आलु निर्यात भएको तथ्याङ्क छ ।’
देशलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि सहयोग गरिरहेको छ । परियोजना अन्तर्गत देशभर आलुका २ वटा सुपर जोन, १० वटा जोन, ४५ वटा ब्लक र ३ सय ५० वटा पकेट क्षेत्र सञ्चालित छन् ।
किसानहरुलाई गुणस्तरीय बीउ उत्पादन र वितरणमा सहयोग गरिरहेको परियोजनाका कृषि अधिकृत नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
‘देशको समग्र आलुको उत्पादकत्व १४ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा परियोजना अन्तर्गत उत्पादन भएको आलुमा गुणस्तरीय बीउ, मल, विषादी र प्राविधिक सहयोग भएका कारण देशभरको समग्रभन्दा राम्रो छ’ कृषि अधिकृत नवराज श्रेष्ठले बताउनुभयो ।
‘काभ्रे र डडेल्धुरामा आलुको सुपरजोन तथा ओखलढुङ्गा, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, काठमाण्डौं, बागलुङ, दैलेख, बझाङ र अछाम जिल्लामा आलुको जोन सञ्चालित छन् ।’ अधिकृत श्रेष्ठले भन्नुभयो, ‘ परियोजना अन्तर्गत समुदायमा आधारित बीउ आत्मनिर्भर कार्यक्रम सञ्चालन भैरहेको छ । त्यसमा पीभीएस लगायत मुल बीउ उपलब्ध गराउँछौँ । यो वर्ष हामीले नुवाकोटमा ४९ हजार ९ सय पीभीएस बीउ उपलब्ध गराएका छौँ । सिन्धुपाल्चोकमा एक लाख ५३ हजार, डडेल्धुरामा १० हजार गरेर २ लाख १२ हजार ९ सय पिभिएस बीउ उपलब्ध गराएका थियौँ । ती दाना बीउ चक्रमा आउँदाखेरी पाँचौं वर्षमा पुग्दा २१ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा आलु लगाउनका लागि पुग्ने बीउ किसानकोमै उत्पादन हुन्छ ।’
१० वटा जोन र २ वटा सुपर जोनबाट मात्रै अघिल्लो वर्ष १२ हजार एक सय ५३ हेक्टरमा आलु रापिएकोमा २ लाख ६८ हजार २ सय ५१ मेट्रिक टन आलु उत्पादन भएकोमा उत्पादकत्व पनि २२ दशमलव ०७ मेट्रिक टन प्रतिहेक्टर रहेको परियोजनाले जनाएको छ ।
‘देशको समग्र आलुको उत्पादकत्व १४ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा परियोजना अन्तर्गत उत्पादन भएको आलुमा गुणस्तरीय बीउ, मल, विषादी र प्राविधिक सहयोग भएका कारण देशभरको समग्रभन्दा राम्रो छ’ कृषि अधिकृत नवराज श्रेष्ठले बताउनुभयो ।
विश्वभर पाइने, सबैले मन पराउने र तरकारीको राजा मानिने आलुको उत्पादन घट्न नदिन किसानले समयमै ध्यान दिनु पर्ने विज्ञको सुझाव छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७, २०:०८