काठमाडौं ।
जुम्लाको गोठिचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङकोटका लक्ष्मीकन्या बुढा प्रतीक्षाले लेख्नुभएको पुस्तक मुक्ति अभियानको विमोचन गरिएको छ । पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रमका बीच मङगलबार नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन गर्दै नेता पम्फा भुषालले भोगाइ, अनुभव सहितका वैचारिक संश्लेषणसहित लेखिएको मुक्ति अभियान पुस्तक उत्पीडनमा परेका कर्णाली सहितका देशभरका नारीहरुको भोगाइ र अनुभव सहितको शान्तिपूर्ण राजनीतिक संघर्षको एक आयाम भएको प्रतिक्रिया दिनुभयो ।
पुस्तक र लेखक लक्ष्मीकन्या बुढा देशभरका महिलाहरुका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै भुषालले यस पुस्तकले उठान गरेको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराइनु पर्ने धारणा राख्नुभएको थियो ।
।त्यस्तै पूर्व शान्तिमन्त्री सत्या पहाडीले यो पुस्तक महिला मुक्ति आन्दोलन र समानताको आन्दोलनका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको छ ।
आफ्नो भोगाई र अनुभुतिको बीचबाट जीवन्त र व्यबहारसिद्ध रचना गर्ने लक्ष्मीकन्या बुढाको यस पुस्तकले प्रधानमन्त्रीले गर्नु भएको ‘प्रतिगमन’ विरुद्धको सशक्त जवाफ भएको पहाडीको प्रतिक्रिया थियो । मदन पुरस्कार विजेता तथा अभियन्ता राधा पौडेलले मुक्ति अभियान पुस्तक राजनीतिक, आर्थिक, सामाजिक, मानवअधिकार तथा प्राज्ञिक क्षेत्रका लागि सन्दर्भ सामग्रीको रुपमा रहने विश्वास व्यक्त गर्नु भयो ।
यस पुस्तकमा कर्णालीका महिलाहरुको समग्र राज्यसंयन्त्रलाई हेर्ने दृष्टिकोण पढ्न सकिने बताउँदै पौडेलले यो पुस्तक पुस्तकालयहरुमा राखेर कर्णालीलाई पढ्ने अवसर प्रदान गर्नु पर्नेमा जोड दिनु भएको छ ।
पुस्तकमार्फत देशमा विद्यमान लिखित भन्दा अलिखित कानूनको वर्चश्वलाई तोड्नका लागि शान्तिपूर्ण संघर्षको रुपमा पुस्तक लेखेको लक्ष्मीकन्या बुढा प्रतीक्षाको भनाई छ । उत्पीडितलाई मुक्तिको महशुस गराउन, मुस्कार र खुसी खोसिएकाहरुको मुहारमा मुस्कान फर्काउन र खोसिएको सम्बृद्धि फिर्ता ल्याउने कोशीस स्वरुप आफ्ना भोगाई र अनुभवलाई संगालेर पुस्तकको रुप दिएको उहाँको भनाई छ ।
लेखक लक्ष्मीकन्या बुढाको यो तेस्रो कृति हो । उहाँले लेख्नुभएको पुस्तक कर्णालीका महिला भाग १, २०७२ सालमा र कर्णालीका महिला भाग २, २०७५ सालमा प्रकाशित भइसकेका छन् । मुक्ति अभियान लेख सङ्ग्रह भएको र यसमा १४ वटा लेखहरु समावेश गरिएको लेखक लक्ष्मीकन्या बुढाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, १२:०५