काठमाडौं । नेपाल–भारतबीच दिल्लीमा आज वार्ता हुँदैछ । संयुक्त आयोगको छैटौँ बैठक हिजो देखि सुरु भएको छट । आज दुई देशका परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनेछ । हिजोको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिजो बिहीबार नै दिल्ली पुगेको हो । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ ।
भारतले बिहीबार बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महìवपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ ।
त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । भारतले नेपाललाई दिने कोभिड– १९ विरुद्धको खोप अनुदान पनि शुक्रबार घोषणा गर्ने कार्यक्रम छ ।
भारतले भने सीमा विवादलाई मुख्य एजेण्डा बनाएको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने संयुक्त आयोगको बैठकमा कालापानीका विषयमा छलफल नहुने संकेत गनु भएको छ । सीमा विवाद र आयोगको बैठक फरक फरक भएको भारतको भनाई छ ।
भारतीय विदेश मन्त्रालयले जनाए अनुसार आज शुक्रबार बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक सुरु हुनेछ ।
भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ भोलि शनिबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७, ०७:२१