काठमाडौँ । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १५औँ साधारणसभा तथा सातौँ अधिवेशन फागुनमा हुुने भएको छ ।
चितवनको सौराहामा बिहीबार सकिएको अकोराबको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
कोभिड १९ को सुरक्षाका मापदण्ड पालना गर्दै भौतिक रुपमा नै १५औँ साधारणासभा तथा सातौँ अधिवेशन गर्ने निर्णय भएको महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
बैठकले कोरोना महामारीको समयमा नागरिकको जीवनरक्षाका लागि सूचनामा खटिने सामुदायिक रेडियोहरुलाई विशेष सहुलियत दिन सरकारसँग माग गरेको छ ।
प्राविधिक कारणले संकटमा परेका रेडियोहरुलाई सहयोग गर्न राष्ट्रिय विपद् कोषको स्थापना गरि विद्युतमा समेत छुट दिन माग गरेको छ ।
देशमा आउन सक्ने सम्भावित संकटका विषयमा सचेत भएर नागरिकका पक्षमा सूचना सम्प्रेशण गर्न पनि केन्द्रीय कार्यसमितिले रेडियोलाई अनुरोध गरेको छ ।
बैठकमा सामुदायिक रेडियोमैत्री सरकारको नीति, रेडियोले समुदायका लागि गरेको योगदान, सामुदायिक रेडियोहरुले बजारिकणका विषयमा पनि समीक्षा भएको थियो ।
‘समाजको चरित्र र स्वरुप जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुन्छ ।’ महासचिव देवकोटाले भन्नुभयो, ‘तर मिडिया समाजको ऐना मात्रै होइन समानता,सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ-प्रदर्शक बन्नुपर्छ । सामुदायिक रेडियोले मात्रै त्यो काम गर्न सक्छन् । ’
नयाँ नेतृत्व चयन गर्ने
फागुनमा हुुने अधिवेशनले सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरिका झण्डै ३ सय ६० सामुदायिक रेडियोकर्मीको सहभागिता रहनेछ ।
नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुनेछ ।
सामुदायक रेडियो प्रसारक संघ (अकोराब) नेपालले सामुदायिक रेडियोको सामाजिक दायित्वलाई थप सशक्त बनाउँदै संस्थागत सुशासनका प्रवर्धनका लागि विभिन्न काम गर्दै आएको छ ।
नेपालका करिब ९५ प्रतिशत नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिहरेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७, ०६:५७