काठमाडौं । लामो प्रतिक्षापछि कारोना (कोभिड १९) विरुद्धको खोप नेपाल आइपुगेको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप बिहीबार बिहान नेपाल आइपुगेको हो । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं आइपुगेपछि सरकारले त्यसको बितरणको तयारी गरेको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदानमा दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई खोप हस्तान्तरण गर्नु भएको थियो ।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।
पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ । स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जनाएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुने छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७, १३:१९