डडेलधुरा। सुदूरपश्चिमका सडकमा कोरिएका ट्राफिक सङ्केत नदेखिँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ । राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका छन् तर मर्मत नगरिएको गुनासो सवारीसाधन चालकहरूको छ ।
सुदूरपश्चिम प्रदेशमा ६ वटा राजमार्ग छन् । यी मध्येमा पनि पहाडी क्षेत्रमा रहेका राजमार्गमा कोरिएका चिन्ह तथा सङ्केत मधुरो हुँदा वा नदेखिँदा चालकलाई समस्या पर्ने गरेको छ ।
कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने त, कतिपयस्थानमा फालिएका कारण समस्या हुने एकजना गाडी चालक, राम अवस्थिको भनाइ छ ।
बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्सेनि हराउने गरेका छन् । पहाडी राजमार्ग निकै साँघुरा भएका कारण सुरक्षित रुपमा आवतजावत गर्नका लागि ट्राफिक सङ्केत आवश्यक पर्ने अर्का गाडी चालक, सन्तोष भट्टले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले ट्राफिक चिह्न मर्मत तथा जीर्णोद्वारका लागि पहल गर्नुपर्ने भए पनि यसका लागि बजेटको व्यवस्था नभएको भन्दै पन्छिने गरिएको छ ।
तर पनि जीर्ण अवस्थाका ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने प्रतिबद्धता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका इन्जीनीएर योगेन्द्र अधिकारीले जनाउनुभयो ।
कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा-बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले-दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल-साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालनमा छन् ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७, ०७:५८