काठमाडौँ । नेपालमा आजबाट नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको एक विशेष समारोहबीच भर्चुअल रुपमा शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहान १० बजेबाट सुरु हुने शुभारारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले बालुवाटारबाट सम्वोधन गर्नुहुनेछ भने त्यसअघि खोप सुरु हुन लागेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइनेछ ।
प्रधानमन्त्री, मन्त्री,लगायत सरोकारवाला निकायका प्रतिनिधिले सम्वोधन गरिसकेपछि प्रधानमन्त्री ओलीले खोप सुरुवात गर्न अनुरोध गर्नुहुनेछ।
त्यसपछि शुक्रराज अस्पताल टेकु, त्रिवि शिक्षाण अस्पताल महाराजगञ्ज, एपीएफ अस्पताल बलम्बुलगायत काठमाडौँका बिभिन्न ११ अस्पताल र उपत्यका बाहिरका अस्पतालबाट पनि खोप लगाउन सुरु गरिनेछ ।
पहिलो खोप कसले लगाउने भन्ने बारेमा भने सम्बन्धित अस्पतालले निर्णय गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
शुक्रराज ट्रपिकल अस्पतालबाट निर्देशक डा सागरराज भण्डारी, शिक्षण अस्पताल महाराजगञ्जबाट निर्देशक, प्राध्यापक डा दिनेश काफ्ले र एपीएफ अस्पतालबाट निर्देशक, एसएसपी रुपक महर्जनले पहिलो खोप लगाउने तयारी गरिएको छ ।
शिक्षण अस्पतालबाट आज ३ सय जनालाई खोप लगाउने तयारी भएको अस्पतालका कोभिड संयोजक डा सन्तकुमार दासले सीआईएनसँग बताउनुभयो ।
पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई खोप लगाइनेछ ।
केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको थियो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिनुभयो ।
प्रवक्ता गौतमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने बताउनुभयो ।
नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ ।
खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालमा आएको खोपलाई दुई डिग्रीदेखि आठ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्ने जानकारी दिँदै खोप उत्पादन भएको छ महिनासम्म प्रयोग गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आईएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजेरेटरमा दुईदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ ।
सरकारले आज ६२ वटा अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप लगाउन सुरु गर्दैछ । सरकारले पहिलो चरणको खोप अभियान एक हप्ताभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७, ०८:४४