काठमाडौँ । सरकारले सगरमाथालगायत उच्च शिखर आरोहण गर्नेलाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गर्नुभएको छ ।
चिसो मौसममा विश्वको सर्वोच्च शिखर माउण्ट केटुको आरोहण गरेर कीर्तिमान कायम गरेको नेपाली टोलीको स्वागत र सम्मानमा हिजो बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताउनुभयो ।
“हामी (सरकार) आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अबउप्रान्त ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउछौँ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिनुभयो । “यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ”, उहाँले भन्नुभयो ।
कीर्तिमानी आरोही निर्मल पुर्जाले माइनस ६५ डिग्र्री सेल्सियस तापक्रममा अनेक दुःख र कष्टका साथ केटूको शिखर पुगेर नेपालको शानलाई उँचो बनाउन पाएकामा गौरवको महसुस भएको बताउनुभयो ।
“खासमा यो पटक केटू आरोहण जाने कुनै योजना थिएन तर समाचार हेर्दा कतिपय देशका आरोहीले केटू आरोहण गरी उनीहरुको नाममा लाने भन्ने सुनेपछि फटाफट झोला बोकेर आरोहणमा हिँडियो, किनकी यो समयमा हामीले हाम्रो हक लिन सकिएन भने भविष्यमा सकिँदैन भन्ने निष्कर्षका साथ आरोहण यात्रामा लागियो”, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको आरोही सम्मान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पर्यटनमन्त्रालयका सचिव यादवप्रसाद कोइराला तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि, आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो ।
सोही अवसरमा केटू आरोहणमा लगेको नेपालको राष्ट्रिय झण्डा आरोही टोलीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो । प्रधानमन्त्री ओलीले आरोहणमा लगिएको झण्डालाई आरोहीको नाम राखेर सुरक्षित ढङ्गले राखिने बताउनुभयो
निर्मलसँगै मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो ।
नेपाली आरोही समूह यही माघ ३ राति १ बजे केटूको शिखरमा पुगेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७, ०९:३६