काठमाडौं । निर्वाचन आयोगले पार्टी विभाजनका विषयमा नेकपाका दुवैपक्षसँग छलफल गरेको छ । दुवैपक्षका अध्यक्ष वाहेकका नेताहरु आयोगमा पुगेर आफ्नो धारणा राखेका छन्। नेकपा विवादमा छलफलका लागि निर्वाचन आयोग पुगेका ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया सुरु गर्ने माग गरेका छन भने प्रचण्ड नेपाल पक्षका नेताहरुले छलफलको अर्को मिति तोक्न माग गरेका छन्।
प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै समय माग गरेको छ ।
प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हो ।
छलफलको विषयमा प्रवेश नगरि प्रचण्ड नेपाल पक्षले माघ १८ गतेपछि छलफलको आयोजना गर्न प्रमुख निर्वाचन आयुक्तलाई पत्र मार्फत जानकारी गराएको छ। ओली पक्षका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास चन्द्र नेम्वाङ सहितका नेताहरू निर्वाचन आयोगमापुग्नु भएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि नेता नेम्वाङले आफूहरूले दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढाएर चुनावमा लाग्न सुझाव दिएको जानकारी दिनुभयो ।
दुवै समूहले निर्णय गरेर दलभित्र गरेको हेरफेरलाई हालै निर्वाचन आयोगले अमान्य घोषणा गरेको थियो। नेकपाको दुवै पक्षले आफ्नो समूहले वैधानिकता पाएको बताइरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७, १४:२२